शुक्रबार, चैत्र १६, २०८०

एग्रोभेटहरूमा म्याद गुज्रेका विषादी

इलाम, ३१ भाद्र । इलामबजारमा सञ्चालित एग्रोभेट सञ्चालकले कृषि र पशुको बीउबिजन तथा औषधि एकै स्थानबाट बिक्री गरिरहेको पाइएको छ । जिल्ला विषादी व्यवस्थापन समितिले सदरमुकामका तीनवटा एग्रोभेटको सोमबार अनुगमन गर्ने क्रममा बीउ, बिजन र औषधि एकै ठाउँबाट बिक्री गरिरहेको फेला पारेको हो । एग्रोभेट सञ्चालकले बीउबिजन र औषधि एकै स्थानबाट बिक्री गर्न नपाइने प्रावधान भए पनि त्यसको बेवास्ता गर्दै यस्तो गरेको पाइएको हो । सदरमुकामस्थित कृषि बीज भण्डार, माँ दुर्गा एग्रोभेट सेन्टर र इलाम एग्रोभेट सेन्टरको अनुगमन गर्ने क्रममा म्याद गुज्रेका विषादी, कतिपयले इजाजतपत्रबिना नै बिक्री गरिरहेको पाइएको छ । म्याद गुज्रेका विषादी जिल्लामा नष्ट गर्न नमिल्ने भएकाले जहाँबाट खरिद गरिएको सोही ठाउँमा फर्काउनुपर्ने भएकाले एक महिनाभित्र त्यस्ता विषादी फिर्ता गर्न एग्रोभेटलाई निर्देशन दिइएको वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले बताउनुभयो । गोदाममा भेटिएका विषादी सिलबन्दी गरी एक महिनाभित्रमा फिर्ता नगरे अर्काे पटक अनुगमन गर्दा एग्रोभेट नै बन्द गर्ने र कानुनी प्रक्रिया सुरु गरिने डाँगीले जानकारी गराउनुभयो । –कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, भदौ ३१, २०७१