धनगढी, ३० भाद्र । नेपाल खाद्य संस्थानले खाद्यान्नको अभाव देखिएका सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, दार्चुला र बैतडी जिल्लामा खाद्यान्न आपूर्ति गर्न थालेको छ ।
तत्कालका लागि दुई दिनअघि बाजुराको कोल्टीमा स्थलमार्गबाट १३० क्विन्टल चामल पठाइएकामा अछामको मङ्गलसेनमा पनि १६० क्विन्टल गहुँ र चामल पठाइएको संस्थानको सेती अञ्चल कार्यालय धनगढीले जनाएको छ ।
अछामको साँफेदेखि बाजुरासम्मको सडक खण्डमा वर्षासँगै ठाउँठाउँमा गएको पहिरोका कारण सडकमा यातायातका साधन अझैसम्म चल्न नसकेपछि ढुवानीका लागि ठेक्का पाएको ठेकेदारले खच्चडमार्फत चामल ढुवानी गर्नुपरेकाले समयमै खाद्यान्न आपूर्ति गर्न कठिनाइ भएको अञ्चल कार्यालयका प्रमुख सुरेन्द्रराज विष्टले बताउनुभयो ।
यसैगरी आइतबार बझाङ जिल्लामा पनि १०० क्विन्टल र बैतडीको मेलौलीमा ५० क्विन्टल चामल पठाइएको विष्टले उल्लेख गर्नु भयो ।
Add Comment