शनिबार, अशोज १३, २०८०

बहुमुखी कृषि फार्म सञ्चालनमा, वार्षिक ३५ लाख आम्दानी गर्ने लक्ष्य

फलेवास (पर्वत), ३० भदौ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ स्थित आम्वोटमा बहुमुखी कृषि फार्म सञ्चालनमा आएको छ । जैविक तरकारीको प्रयोगमा वृद्धि गर्ने उद्देश्यले गत पुसदेखि सञ्चालनमा ल्याइएको कृषि फार्ममा मौसमी तथा बेमौसमी तरकारीखेतीका साथै माछापालन सुरु गरिएको छ । रु १२ लाख लगानी गरेर सुरु गरिएको फार्ममा अहिले गोलभेँडाखेती, विभिन्न तरकारीका बेर्ना, साग, काउली, बन्दालगायतका तरकारी उत्पादन गरिएको छ भने फार्मभित्रै १० हजार माहुर जातका माछापालनसमेत गरिएको छ । खासगरी सदरमुकाममा रहेको नमुना व्यावसायिक सहकारी संस्था लिमिटेडले जग्गा भाडामा लिएर उक्त फार्म सञ्चालनमा ल्याएको हो । वार्षिक रु एक लाख २० हजार भाडा तिर्ने गरी भाडामा लिइएको १५ रोपनी जग्गामा व्यावसायिक रूपले सुरु गरिएको फार्मबाट वार्षिक रु ३५ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिइएको बहुमुखी कृषि फार्मका व्यवस्थापक लालबहादुर हरिजनले जानकारी दिनुभयो । हरिजनका अनुसार जैविकखेती प्रणालीको विकास गर्दै नमुना आवासीय उच्च माविमा अध्ययनरत विद्यार्थीलाई कृषि खेतीप्रणालीसम्बन्धी शिक्षा दिने उद्देश्यले फार्म सञ्ंचालनमा ल्याइएको हो ।

प्रकाशित मिति: सोमवार, भदौ ३०, २०७१