शुक्रबार, जेष्ठ १९, २०८०

कृषि विकास बैंकका कर्मचारी आन्दोलित

काठमाडौँ, ३० भाद्र । कृषि विकास बैंकका कर्मचारीको सेवा सुविधा वृद्धि, विनियमावली संशोधन तथा शाखा प्रमुखसम्मको ट्रेड युनियन अधिकार सुनिश्चित गराउनुपर्नेलगायतका माग राख्दै नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आन्दोलन गर्दै आएका छन् ।
बैंक व्यवस्थापन र कर्मचारी युनियनसँग गरेको प्रतिबद्धता र सहमति पूरा नगरिएको भन्दै सङ्घले यही भदौ १५ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएको हो ।
सङ्घका संयोजक यज्ञ भट्टराईले आफ्ना मागलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।
उता बैंकका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीले कर्मचारीको मागलाई व्यवस्थापनले सम्बोधन गरिसकेको उल्लेख गर्दै पूर्वाग्रही भएर नियतबस गरिएको आन्दोलनले बैंक तथा कर्मचारीलाई फाइदा नगर्ने भएकाले आन्दोलन फिर्ता लिनुपर्ने बताउनुभयो ।
त्यसैगरी सङ्घका पूर्व अध्यक्ष एकराज आचार्यले बैंक सञ्चालन समितिका अध्यक्ष एवम् व्यवस्थापनले राजिनामा दिनुपर्ने उल्लेख गर्दै सङ्घसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न माग गर्नुभयो ।
सङ्घले उत्पादन थप व्यवस्था, खाजा खर्च, उत्प्रेरणा भत्ता, पोसाक खर्च वृद्धि, आधिकारिक ट्रेड युनियनको निर्वाचन, ठूला परियोजनामा लगानीको विश्वासलगायतका माग राख्दै आएको छ ।

प्रकाशित मिति: सोमवार, भदौ ३०, २०७१