शनिबार, बैशाख ८, २०८१

बाग्लुङ्गमा सामूहिक माछापालन

बागलुङ, २७ भाद्र । जिल्लाको तङ्ग्राम गाविसका चार कृषक मिलेर व्यावसायिक माछापालन सुरु गरेका छन् । वार्षिक रु ५० लाख आम्दानी गर्ने लक्ष्यका साथ तङ्ग्राम–१ का बलहादुर थापा, रनबहादुर थापा, पहलमान थापा र लालसिंह थापाले सामूहिक रुपमा माछापालन सुरु गरेका हुन् ।

नमुना माछा तथा तरकारी फर्म नै स्थापना गरेर रु १० लाखको लागतमा माछापालन सुरु गरिएको सञ्चालक बलबहादुर थापाले बताउनुभयो । वार्षिक रु एक लाखमा गाउँकै कृषकको २० रोपनी जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेको थापाले जानकारी दिनुभयो ।
गत फागुनमा माछा पाल्न सुरु गरेदेखि हालसम्म पोखरीमा भुरासहित ३१ हजार माछा छन् । तङ्ग्राम–१ कै बुर्लुङ सालघारीमा रहेको माछापोखरीमा हाल ११ हजार माछा बिक्रीका लागि तयार भएका छन् ।
पोखरीमा ग्रासकार्प, राहु, नैनी, बिग्रेड, सिल्भर, भ्याकुर जातका माछा रहेको सञ्चालक थापाले बताउनुभयो । त्यहाँ उत्पादित माछा गाउँमै बिक्री हुने अपेक्षा लिइएको छ ।
अहिले गाउँमै प्रतिकेजी रु ५०० मा माछा बिक्री हुने गरेको छ । “माछा गाउँमै पनि बिक्री हुन्छ, माग बढी नै छ, यहाँ बेच्न नसकेको बजारमा पठाउँछौँ”, सञ्चालक थापाले भन्नुभयो ।
फागुनमा पोखरी निर्माण गरेर चैतदेखि माछा पाल्न सुरु गरिएको कृषक रनबहादुर थापाले बताउनुभयो । सुरुमा २५÷२५ हजार सेयर हालेर व्यवसाय सुरु गरेको थापाले जानकारी दिनुभयो ।
अहिले उक्त सेयर रकम बढाएर रु एक लाख पु¥याइएको छ । अपुग रकम सामूहिक रुपमा ऋण लिएको थापाको भनाइ छ । पोखरी निर्माणका लागि कृषि कार्यालयबाट रु ६० हजार अनुदान सहयोग प्राप्त भएको थापाले जानकारी दिनुभयो ।
माछापालनका लागि भुरा टाढाबाट लिनुपर्ने, भाडा महँगो तिर्नुपर्ने, भनेको माछा नपाइने, गाउँमा हावापानी नमिल्दा मर्ने समस्या रहेको सञ्चालकको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७१