शुक्रबार, चैत्र १६, २०८०

पशुजन्य उद्योगमा लगानी बढ्दै

कैलाली, २४ भाद्र । पछिल्लो केही वर्षयता सदूरपश्चिममा पशुजन्य उद्योगमा लगानी बढ्दै गएको छ । पशुजन्य उद्योगबाट उत्पादित वस्तुले सहज रुपमा बजार पाउन थालेपछि लगानी बढ्दै गएको हो ।

क्षेत्रीय पशुसेवा निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिममा सरकारी क्षेत्रबाट पशुजन्य उद्योगमा रु २० करोड लगानी भएको छ । यस क्षेत्रका नौवटै जिल्लामा गत आर्थिक वर्षमा रु १९ करोड ९५ लाख लगानी भएको क्षेत्रीय पशुसेवा निर्देशनालय दिपायलका निर्देशक डा. डिकरदेव भट्टले बताउनुभयो ।
सञ्चालित उद्योगहरूमा छ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको जनाइएको छ । यस क्षेत्रभर ४७ वटा डेरीमा रु पाँच करोड २९ लाख ५० हजार, ३९२ वटा मासु पसलमा रु तीन करोड ७२ लाख ५५ हजार र कुखुरा फार्ममा रु तीन करोड ३८ लाख ३२ हजार लगानी भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी ९६ वटा गाईभैँसी फार्ममा रु एक करोड १७ लाख, बङ्गुर फार्ममा रु एक करोड ३३ लाख ३५ हजार, भेंडापालनमा रु ६० लाख र दाना उद्योगमा रु एक करोड ५० लाख लगानी भएको बताइएको छ ।
सुदूरपश्चिममा निजी क्षेत्रबाट पनि पशुजन्य उद्योगमा उल्लेख्य मात्रामा लगानी हुँदै आएको छ । यस क्षेत्रका पहाडी जिल्लामा भन्दा कैलाली र कञ्चनपुरमा बढी लगानी हुँदै आएको छ

प्रकाशित मिति: मङ्लबार, भदौ २४, २०७१