बिहिबार, चैत्र १५, २०८०

‘अबको अभियान प्राङ्गारिक कृषि क्रान्ति’

पर्वत, २३ भाद्र । अखिल नेपाल किसान महासङ्घले अब कृषि क्षेत्रमा प्राङ्गारिक खेतीको क्रान्ति सुरु गरेको छ । नेकपा(एमाले)को भ्रातृसंस्था अखिल नेपाल किसान महासङ्घका कार्यबाहक अध्यक्ष केशवलाल श्रेष्ठले प्राङ्गारिक खेती अपनाएर मुलुकको अर्थतन्त्र मजबुत बनाउन आठ वर्षे कार्ययोजनासहित प्राङ्गारिक कृषि क्रान्ति अभियान सुरु भएको जानकारी दिनुभयो ।

किसान महासङ्घको अञ्चल बैठकका क्रममा पर्वतमा पार्टी र किसान महासङ्घका प्रतिनिधिसँग कुरा गर्दै कार्यबाहक अध्यक्ष श्रेष्ठले केही वर्षअघिसम्म कृषिजन्य पदार्थ निर्यात गर्ने नेपालमा अत्यधिक रासायनिक मल प्रयोगबाट उत्पादकत्व घटेका कारण प्राङ्गारिक खेतीमा जोड दिनुपरेको बताउनुभयो ।
यसका लागि पाँचवटा प्याकेज निर्माण गरेर अघि बढेको पनि उहाँले बताउनुभयो । अभियानअन्तर्गत प्राङ्गारिक कृषिको फार्म, कलेज र विश्वविद्यालयसमेत स्थापना गर्ने, रासायनिक मललाई विस्थापित गर्न जैविक मलको कारखाना नै खोल्ने योजना बनाइएको छ । ३७ लाख मेट्रिकटन प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।
यसबाहेक किसानको सहभागितामा जलविद्युत् उत्पादन गर्ने तथा ज्येष्ठ नागरिक आश्रम स्थापना गर्ने पनि कार्यबाहक अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यो अभियान सम्पन्न गर्न कृषि सहकारी स्थापना भइरहेको पनि उहाँले जानकारी दिनुभयो । किसान महासङ्घले देशव्यापी रूपमा सङ्गठन सुदृढीकरण अभियान थालेको छ भने जिल्ला तहका सबै अधिवेशन सकेर मङ्सिरमा चितवनमा महासम्मेलन गर्ने भएको छ ।
सोही अवसरमा एमाले पर्वतका कार्यबाहक अध्यक्ष राजुप्रसाद पौडेलले किसान महासङ्घले कृषि क्रान्तिका लागि गरिरहेको अभियान उपलब्धिमूलक भएको बताउँदै यसलाई परिणाममुखी बनाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: सोमवार, भदौ २३, २०७१