आइतवार, जेष्ठ १३, २०८१

पूर्वाञ्चलमा कृषि विकास कार्यालय झापा उत्कृष्ट घोषणा

भद्रपुर, १८ भदौ । कृषि विकास कार्यालय झापाले आर्थिक वर्ष २०७०÷७१ मा सञ्चालन गरेको वार्षिक कार्यक्रमबाट अधिकतम कृषक लाभान्वित भएपछि पूर्वाञ्चल क्षेत्रमै यो कार्यालय यस वर्ष उत्कृष्ट घोषित भएको छ ।

जिल्लाको हावापानी, कृषकको चाहना र कृषितर्फ युवालाई आकर्षित गर्न र विषादीको अनियन्त्रित प्रयोगलाई घटाउन साथै प्राङ्गारिक खेतीलाई बढावा दिन तथा कृषकलाई कृषि उपकरण प्रयोगमा ल्याउन सो कार्यालयले विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरेको थियो ।
सो कार्यक्रमअनुसार कृषि यान्त्रिकरणमा ५० प्रतिशत अनुदानमा १४ वटा पावरटिलर, कृषक समूह तथा सहकारी संस्थामार्फत बिजवृद्धिको कार्यक्रम सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यावसायिक र एकीकृत कृषि उद्यम फार्म सञ्चालन गर्न प्रोत्साहित गर्दा २० वटा त्यस्ता फार्म सञ्चालन, १४ वटा कृषि पाठशाला सम्पन्न गरेको थियो ।
यस्तै, जिल्लाका एक हजार १२५ जना कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युत् मिटर खरिद गर्न सिफारिस गरेको, कृषि घुम्ती शिविरबाट ९५० जना कृषक लाभान्वित भएको र कृषि बिमा कार्यक्रमबाट क्षतिपूर्ति गरिने जस्ता कार्यक्रमले पूर्वाञ्चलको अन्य सबै कार्यालय भन्दा उत्कृष्ट भएको वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०७१