शनिबार, बैशाख १, २०८१

मल नपाए पछि किसान आन्दोलित

सप्तरी, १६ भाद्र । धान खेत गोड्ने समयमा प्रयोग गर्नका लागि युरिया मल नपाएपछि सप्तरीका किसानहरु धर्नामा बसेका छन् । आफूहरुले रासायनिक मल खरिद गर्न नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिएका हुन् ।
धानखेती गर्ने बेलामा आवश्यक पर्ने रासायनिक मल युरिया नपाएपछि गाउँगाउँबाट आएका किसानले सप्तरीको राजविराजमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला कृषि विकास कार्यालय अगाडि धर्ना दिएका हुन् । आकाशे पानीको भरमा ढिलो गरी रोपेको धान पनि रासायनिक मलको अभावमा बिग्रन लागेको भन्दै किसानले किसानका लागि आएको मलमा पनि व्यापक कालोबजारी हुने गरेको गुनासो गर्दै धर्ना बसेका छन् ।
विगत एक सातादेखि रासायनिक युरिया मलका लागि सदरमुकाम धाउँदासमेत मल पाउन नसकेको गुनासो पोख्दै सप्तरीको १ नम्बर योगिनियाँ गाविसका अशोक यादवले युरिया मलको कालोबजारी हुँदै आएकाले त्यसलाई नियन्त्रण गरी सहज रूपमा मल उपलब्ध गराउन माग गर्नुभयो ।
सप्तरीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आ–आफ्ना डिलरहरूलाई रासायनिक मल उपलब्ध गराइँदै आइए पनि केही सातादेखि जिल्लामा मलको चरम अभाव देखिएको छ ।

प्रकाशित मिति: सोमवार, भदौ १६, २०७१