आइतवार, मंसिर २४, २०८०

किसानलाई ‘अन्तर्राष्ट्रिय एक्सेस ब्रान्ड’

कावासोती, १६ भदौ । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोटले अन्तर्राष्ट्रियस्तरको एक्सेस ब्रान्ड पाएको छ । नेपालभरका सहकारीमध्ये ८६ वटा सूचक पूरा गरेर यसले यो ब्रान्ड हात पारेको हो ।

आर्थिक वर्ष २०६८÷०६९ मा चार विषयका ८६ सूचक पूरा गर्न सहकारी र एसियाली ऋण महासङ्घ (अकु) बीच सम्झौता भएअनुसार उक्त काम गरेकाले एक्सेस ब्रान्ड पाएको सहकारीका अध्यक्ष गोपालप्रसाद गौतमले बताउनुभयो ।
एसियाली मुलुकहरूमा बचत तथा ऋण सहकारी संस्थाहरूको छाता सङ्गठन अकुले वित्तीय, सदस्य, आन्तरिक व्यावसायिकता तथा सिकाइ र वृद्धिको विषयमा ८६ सूचक तय गरेको थियो ।
पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरेर आफ्नो क्षेत्र विस्तार गरेको यो सहकारीको खराब ऋणी नभएको, सहकारीले उत्पादनमुखी काममा ध्यान दिएकाले जीवनस्तर उकास्नमा समेत सहज हुने गरेको छ ।
खुद आम्दानीमा समेत २१५ प्रतिशतले वृद्धि गरेको सहकारीले पाँचवटा सेवा केन्द्रमार्फत गैंडाकोट नगरपालिकामा आफ्नो कारोबार गर्दै आएको छ ।

प्रकाशित मिति: सोमवार, भदौ १६, २०७१