शुक्रबार, बैशाख ७, २०८१

पशुपालन बढेपछि दूध निर्यात

रुपन्देही, १५ भदौ । युवाहरुको मोह पशुपालनमा भएपछि बढ्दै गएको गाईपालनका कारण रुपन्देहीमा दूध उत्पादन बढेको छ । पछिल्लो समयमा रुपन्देही जिल्लामा व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढ्दै गए पछि रूपन्देही जिल्ला दूध निर्यात गर्न सक्षम बनेको छ । रूपन्देहीबाट अहिले जिल्लामा खपत हुन नसकेको दूध चितवन, हेटाँैडा, काठमाडाँै र पोखरा निर्यात हुने गरेको छ ।

रूपन्देहीमा अहिलेको मौसममा दैनिक ५५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । जसमध्ये ५० प्रतिशत दूध जिल्लामा खपत हुन्छ भने बाँकी ५० प्रतिशत दूध अन्य जिल्लामा जाने गरेको जिल्ला पशु सेवा कार्यालय रूपन्देहीका वरिष्ठ पशु चिकित्सक डा लक्ष्मण ढकालले जानकारी दिनुभयो ।
जिल्लामा वार्षिक झन्डै दुई लाख मेट्रिक टन दूध उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढेकाले जिल्लामा दूधको उत्पादनमा पनि वृद्धि भएको डा ढकाल बताउनुहुन्छ ।
जिल्लामा व्यावसायिक पशु फर्म करिब ४५० को सङ्ख्यामा रहेका छन् । डा ढकालका अनुसार गत आर्थिक वर्षमा मात्र ३८ हजार गाईभैँसीलाई कृत्रिम गर्भाधान गराइएको छ । यसबाट वर्षमा करिब १० हजार नयाँ दूध दिने पशुको सङ्ख्या बढ्ने अनुमान गर्न सकिन्छ । दूध दिने पशुको सङ्ख्यामा वृद्धिसँगै दूध उत्पादनमा पनि वृद्धि हुन्छ ।
रूपन्देहीमा डेरी व्यवसायीको सङ्ख्या पनि बढ्दो छ । जिल्लामा डेरी व्यवसायीको सङ्ख्या ९० भन्दा बढी छ । यहाँका डेरीबाट पनिर, घिउ, दहीलगायतका दुग्धजन्य पदार्थ उत्पादनसमेत हुने गरेको छ । यहाँ दैनिक १० हजार लिटर दूध सङ्कलन र प्रशोधन गर्न सक्ने क्षमताका उद्योग पनि रहेका छन् । यसका साथै ७२ वटा दुग्ध सहकारीमा चिलिङ फयाट केन्द्रसमेत राखिएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ १५, २०७१