शुक्रबार, बैशाख ७, २०८१

वाँकेमा २ करोडको माछा नौं करोडको धानबाली नष्ट

वाँके ११, भाद्र । केहीदिन अगाडि अविरल परेको बर्षाका कारण आएको बाढीका कारण वाँकेमा धानखेती डुबानमा पर्दा करिव नौ करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालयले बाढी प्रभावित १५ गाविसमा गरिएको क्षतिको संकलित विवरण अनुसार एक हजार नौ सय त्रिहत्तर हेक्टर क्षेत्रफलमा लगाइएको धानखेती बाढीको डुवानका कारण पटान परेको छ ।
जिल्ला कृषि कार्याल्यका वाँकेका प्रमुख राजेन्द्र प्रधानका अनुसार पटानमा परेका धानखेती मध्ये ५० प्रतिशत नष्ट भएको अनुमानका आधारमा ९ करोड रुपैयाँ बराबरको क्षति विवरणको संकलन गरिएको हो । गतबर्ष एक कठ्मा १३० किलो धान उत्पादन भएका आधारमा यसबर्ष डुबानमा परेको धानखेतीको क्षति विवरण आंकलन गरिएको प्रमुख प्रधानले बताउनु भयो ।
कार्यालयका अनुसार जिल्लाका गंगापुर, होलिया, मटैया, फत्तेपुर, बेतहनी, कचनापुर, उढरापुर, सोनपुर, खासकुश्मा, मनिकापुर, बसुदेवपुर, बैजापुर, गरी १५ गाविस बाढीले पारेको क्षति विवरण संकलन गरिएको हो । साथै अन्य जिल्लामा बाढीले पारेको प्रभाव र क्षतिको बारेमा लगत संकलन जारी रहेको कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार १७२ हेक्टर जमिन कटानमा परेको छ भने १४ हेक्टर मकैबाली पनि डुवानमा परेको छ । यसका अलावा करिव २ करोड रुपैयाँ बराबरको माछा बगेर नष्ट भएको पनि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७१