बिहिबार, चैत्र १५, २०८०

तराईका अधिकांश बालीनाली डुवानमा

काठमाडौं, १ भाद्र । केही दिन अगाडि सिन्धुपाल्चोकमा पहिरो गयो । त्यसले केही खेती गरिरहेको जग्गा बगाएर लग्यो । तर कति खेती योग्य भूमि पहिरोमा पर्यो भन्ने कुरा जिल्ला कृषि विकास कार्यालयलाई थाहा नै छैन । सुनकोसी फाँटका कति खेती भईरहेका जमीन बाढीले लग्यो यकिन गरिएको छैन । यति मात्र होइन त्यस पछाडिका दिनमा मुलुकभर बाढी र पैरोले जनजीवन त्रसित बनाएको छ बिहीबार र शुक्रबार अविरल परेको पानीका कारण तराई क्षेत्र पनि पुरै डुबान परेका छन् । सयौं हेक्टर जमीनमा रोपिएका धान खेतहरु बाढीसँगै बगेर गएका छन् । पहाडमा रोपिएका मकैबारीहरु पनि पैरोसँग पुरिएका छन् । हरेक बर्ष जसो हुने क्षतिले यस्तै बर्वाद बनाउँदै लगेको छ ।
flodबाढी पैरोसँगै हुने गरेको क्षतिको विवरण गृह मन्त्रालयले सार्वजनिक गर्दै आईरहेको छ । तिनै बाढी पहिरोबाट कति किसानहरु प्रताडित बनेका छन् कति खेती योग्य भुमि बगरमा परिणत भयो वा कुन कुन बाली कति नष्ट भयो भन्ने कुरालाई त्यत्ति धेरै चासो दिएको पाईदैन । कृषि प्रधान देश भन्ने सरकार कृषि क्षेत्रलाई उपेक्षित गरिरहेको छ कि भन्ने शंका गर्नु पर्ने अवस्था देखिएको छ ।
यो बर्ष बाढी पैरोबाट जति पनि कृषि उत्पादन भईरहेका खेतीहरुको क्षति भईरहेको छ । त्यसले ठूलो मात्रामा उत्पादन घट्ने सम्भावन भने स्पष्ट देखिएको छ । त्यसमाथि पनि धान उत्पादनको राजधानी मानिने बर्दिया जिल्लाका धान उत्पादन भईरहेका धेरै क्षेत्र डुबानमा परेकाले ती क्षेत्रबाट उत्पादन कमी हुने पक्का देखिएको छ ।
जिल्ला कृषि विकास कार्यालय बर्दियाका प्रमुख हिक्मत कुमार श्रेष्ठका अनुसार बर्दियाका ७० प्रतिशत खेती योग्य भूमि बाढीको प्रकोपमा परेको छ । सो जिल्लामा ३० हजार मानिस प्रभावित भएकाले प्रारम्भिक राहत वितरण भईरहेकोले कति खेती योग्य भूमि र बाली नाली नष्ट भए भन्ने कुरा यकिन गर्न गाह्रो भएको र एक साताभित्र मात्र यकिन गर्न सकिने बताएका छन् । सो क्षेत्रको खेती भईरहका जमीन अधिकांश डुवानमा परेको छ ।
त्यस्तै पश्चिमाञ्चाल क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक लेखनाथ आचार्यले सो क्षेत्रमा पश्चिममा जस्तो धेरै हानी नोक्सानी नभएको र केही स्थानहरुमा खेती योग्य जमीन तथा बालीनाली नष्ट भएको जानकारीमा आएकोले त्यसको लगत तयार गरिरहेको जानकारी दिएका छन् ।
बाढी पैरोले जसरी खेती योग्य भूमिको बिनास गरिरहेको छ त्यसको राज्यले लगत खडा गर्नु अत्यन्त महत्वपूर्ण छ ।
बाढी पैरोबाट अहिले जसरी खेती योग्य भूमिहरु विनाश भईरहेका छन् भावी दिनमा त्यसलाई व्यवस्थित गर्नका लागि बाढी पैरो जानसक्ने सम्भावित क्षेत्रहरुमा त्यसलाई न्यूनिकरण तटवन्ध, बृक्षारोपण वा भौगोलिक अवस्था अनुरुप आधुनिक प्रविधि अपनाउन सरकार आजैबाट लाग्नु जरुरी छ ।

प्रकाशित मिति: आइतवार, भदौ १, २०७१