शनिबार, बैशाख ८, २०८१

आजका दैनिक पत्रिकामा कृषि समाचार

भारतीय बजारमा गोलभेंडा विक्री सहज छैन :
सरकारले स्वदेशमा उत्पादन हुने गोलभेंडाका लागि भारतीय बजार उपयुक्त क्षेत्र भएको दावी गरे पनि व्यवहारमा भने त्यो निकै झन्झटिलो देखिएको छ । नेपालमा उत्पादन भएका गोलभेंडा निर्यातमा त्यहाँको निर्यात र क्वारेण्टाइन सम्वन्धी नीति वाधक हुने विज्ञले बताएका छन् ।
राष्ट्रिय प्लाण्ट क्वारेण्टाइन कार्यक्रमका अनुसार क्वारेण्टाइन तथा निर्यात नीति नेपाल मैत्री नहुँदा तत्काल गोलभेंडा निर्यात गर्न सकिने अवस्था छैन । विज्ञहरु गोलभेंडा निर्यातका लागि दुवै मुलुकका उच्च अधिकारीवीच कूटनीतिक छलफलको माध्यमबाट नेपाल मैत्री नीति तयार गर्नु पर्ने बताउँछन् अन्नपूर्ण पोष्टमा छापिएको छ ।
चियामा कर बृद्धि विवादले किसान मर्कामा :
चियामा जिविसले दोब्वर कर बृद्धि गरेपछि इलामका किसानहरु मारमा पर्नु परेको आजको कान्तिपुर दैनिकले समाचार प्रकाशन गरेको छ । जिल्लाका अधिकांश ठूलासाना चिया कारखानाले कर घटाउन गरेको मागमा जिविसले पुर्नविचार गर्न नसकिने जनाएपछि उद्योगीले कारखाना बन्द गर्ने चेतावनी दिएका छन् । घट्दो उत्पादन र हरियो चियापत्तिको कम मूल्यका कारण समस्यामा रहेका कृषकहरुलाई करको बहानामा थप मूल्य घट्न चिन्ता बढेको छ ।
अघिल्लो बर्ष प्रतिकिलो एक रुपैयाँका दरल तयारी चियाको जिल्ला निकासी कर तिदै आएका व्यवसायी यसपटक दुई रुपैयाँ तिर्नुपर्ने भएपछि आन्दोलित भएका हुन् ।
पशु फार्म दर्ता बढे :

सरकारी युवा लक्षित कार्यक्रम अन्तर्गत अनुदान उपलब्ध गराउने भएपछि भक्तपुर जिल्लामा व्यवसायिक पशु फार्म दर्ता गर्ने किसानहरुको संख्या बढेको समाचार पनि अन्नपूर्णले छापेको छ । सरकारले बजेट मार्फत पशु बीमाको प्रिमियम ७५ प्रतिशतसम्म बेहोर्ने घोषणा गरे लगतै पशु फार्म दर्ता गर्नैको संख्या बढेको हो । जिल्ला पशु सेवा कार्यालय भक्तपुरका अनुसार अहिले कार्यालयमा व्यवसायिक पशु फार्म दर्ता गर्ने किसानको लर्को नै लागेको छ ।
बिषादीको असर बुझाउन बारीमा सूचना :
तरकारी खेती समेत नहुने इलामको सूर्योदय नगरपालिका ९ गैरी गाउँका किसानहरुले २०६३ सालमा शत्रुजीव व्यवस्थापन पाठशाला सञ्चालनबाट बिषादी प्रभावबारे थाहा पाएपछि तरकारी खेती त शुरु गरे नै त्यससँगसँगै बिषादीको प्रयोगको असर बारे बुझाउनका लागि बारीमा नै सूचना पाटी टाँस गर्न थालेका छन् । सो गाउँका किसानहरुले व्यवसायिक रुपमा नै तरकारी तथा नगदेवाली शुरु गरेपछि बिषादीको असर किसान तथा उपभोक्तालाई समेत बुझाउन बारीमा सचना पाटी तथा बुख्याँचा समेत राखी मानिसलाई लाग्ने रोगहरुका बारेमा जनचेतना अभिबृद्धि गरिरहेका पनि अन्नपूर्णमा छापिएको छ ।
नौ हजार हेक्टर जमिन बाँझो:
प्रशस्त धान खेती हुने वाँकेमा साँढे नौ हजार हेक्टर जग्गा अझै पनि बाँझो रहेको आजको अन्नपूर्णमा समाचार छापिएको छ । पर्याप्त पानी नपर्दा साउन महिना वितिसक्दा पनि जिल्लामा ७५ प्रतिशत रोपाई हुन नसकेको उल्लेख गरिएको छ ।
रोपाई भएको जमीनमा समेत पानी नभएर चिरा पर्न थालेको जिल्ला कृषि कार्यालय वाँकेले जनाएको छ ।
भ्यागुते रोग विरुद्ध खोप अभियान:
पश्चिम मकवानपुरको मनहरी गाविसको विभिन्न वडामा विगत दुईसातादेखि फैलिएको अज्ञात रोग भ्यागुते नै भएको प्रमाणित भएको छ । रोग अmभैm नियन्त्रणमा आउन सकेको छैन राजधानी दैनिकले उल्लेख गरेको छ ।
अज्ञात रोगले घरपालुवा पशुहरु मर्न थालेपछि कृषकहरुले पशु सेवा कार्यालयमा अनुरोध गर्दा पनि चासो नदिएको र उल्टै पशुकर्मीहरुले कृषकसँग गएर रीस पोखेकोपनि छापिएको छ ।
उखु खरिद नियमावलीप्रति किसा आक्रोशित :
खरिद कार्य व्यवस्थित गर्न भन्दै बाराको मनहर्वास्थित रिलायन्स सुगर एण्ड केमिकल इण्ड्रस्टिजले आगामी सिजनबाट लागू हुने गरी हालै जारी गरेको उखु खरिद विक्री नियमावली र करारनामा प्रति जिल्लाका उखु उत्पादक किसानले आपत्ति जनाएका आजको समाचार पत्रमा छापिएको छ ।
कारखानाले गत बर्ष जस्तै आगामी सिजनमा पनि समयमै उखु खरिद नगर्ने क्षतिपूर्ति रकम पनि नदिने मनसायले नयाँ नियमावली लागू गरेर करारनामा गराउन खोजेको किसानहरुले आरोप लगाएका छन् ।
बाढी पैरोमा खेती योग्य भूमि:
आजको कृषि साप्ताहिमा छापिएको छ केही दिन अगाडि सिन्धुपाल्चोकमा पहिरो गयो । त्यसले केही खेती गरिरहेको जग्गा बगाएर लग्यो । तर कति खेती योग्य भूमि पहिरोमा पर्यो भन्ने कुरा जिल्ला कृषि विकास कार्यालयलाई थाहा नै छैन । सुनकोसी फाँटका कति खेती भईरहेका जमीन बाढीले लग्यो यकिन गरिएको छैन । यति मात्र होइन त्यस पछाडिका दिनमा मुलुकभर बाढी र पैरोले जनजीवन त्रसित बनाएको छ बिहीबार र शुक्रबार अविरल परेको पानीका कारण तराई क्षेत्र पनि पुरै डुबान परेका छन् । सयौं हेक्टर जमीनमा रोपिएका धान खेतहरु बाढीसँगै बगेर गएका छन् । पहाडमा रोपिएका मकैबारीहरु पनि पैरोसँग पुरिएका छन् । हरेक बर्ष जसो हुने क्षतिले यस्तै बर्वाद बनाउँदै लगेको छ ।
बाढी पैरोसँगै हुने गरेको क्षतिको विवरण गृह मन्त्रालयले सार्वजनिक गर्दै आईरहेको छ । तिनै बाढी पहिरोबाट कति किसानहरु प्रताडित बनेका छन् कति खेती योग्य भुमि बगरमा परिणत भयो वा कुन कुन बाली कति नष्ट भयो भन्ने कुरालाई त्यत्ति धेरै चासो दिएको पाईदैन । कृषि प्रधान देश भन्ने सरकार कृषि क्षेत्रलाई उपेक्षित गरिरहेको छ कि भन्ने शंका गर्नु पर्ने अवस्था देखिएको छ ।
यो बर्ष बाढी पैरोबाट जति पनि कृषि उत्पादन भईरहेका खेतीहरुको क्षति भईरहेको छ । त्यसले ठूलो मात्रामा उत्पादन घट्ने सम्भावन भने स्पष्ट देखिएको छ । त्यसमाथि पनि धान उत्पादनको राजधानी मानिने बर्दिया जिल्लाका धान उत्पादन भईरहेका धेरै क्षेत्र डुबानमा परेकाले ती क्षेत्रबाट उत्पादन कमी हुने पक्का देखिएको छ ।
जिल्ला कृषि विकास कार्यालय बर्दियाका प्रमुख हिक्मत कुमार श्रेष्ठका अनुसार बर्दियाका ७० प्रतिशत खेती योग्य भूमि बाढीको प्रकोपमा परेको छ । सो जिल्लामा ३० हजार मानिस प्रभावित भएकाले प्रारम्भिक राहत वितरण भईरहेकोले कति खेती योग्य भूमि र बाली नाली नष्ट भए भन्ने कुरा यकिन गर्न गाह्रो भएको र एक साताभित्र मात्र यकिन गर्न सकिने बताएका छन् । सो क्षेत्रको खेती भईरहका जमीन अधिकांश डुवानमा परेको छ ।
त्यस्तै पश्चिमाञ्चाल क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक लेखनाथ आचार्यले सो क्षेत्रमा पश्चिममा जस्तो धेरै हानी नोक्सानी नभएको र केही स्थानहरुमा खेती योग्य जमीन तथा बालीनाली नष्ट भएको जानकारीमा आएकोले त्यसको लगत तयार गरिरहेको जानकारी दिएका छन् ।
बाढी पैरोले जसरी खेती योग्य भूमिको बिनास गरिरहेको छ त्यसको राज्यले लगत खडा गर्नु अत्यन्त महत्वपूर्ण छ ।
बाढी पैरोबाट अहिले जसरी खेती योग्य भूमिहरु विनाश भईरहेका छन् भावी दिनमा त्यसलाई व्यवस्थित गर्नका लागि बाढी पैरो जानसक्ने सम्भावित क्षेत्रहरुमा त्यसलाई न्यूनिकरण तटवन्ध, बृक्षारोपण वा भौगोलिक अवस्था अनुरुप आधुनिक प्रविधि अपनाउन सरकार आजैबाट लाग्नु जरुरी छ ।
मासिंदै खेतीयोग्य जमिन
दाङ्ग जिल्लामा पछिल्लो १०बर्षमा ४ हजार २९ हेक्टर खेतीयोग्य जमिन मासिएको समाचार नयाँ पत्रिकाले प्रकाशन गरेको छ । जिल्ला तथ्यांक कार्यालयका अनुसार ०५८ को कृषि गणनामा दाङ्गमा ६५ हजार ९ सय ८१ हेक्टर जमिनमा खेती हुँदै आएको थियो । रोजगारीको लागि युवाहरु विदेश जाने क्रम बढ्नु, बजार छेउका जमिनमा प्लटिङ्ग गरिनु र कृषि पेशामा रुचि घट्ने क्रम बढेपछि खेतीयोग्य जमिन मासिन थालेको हो ।

प्रकाशित मिति: आइतवार, भदौ १, २०७१