शनिबार, बैशाख ८, २०८१

काभ्रेको तरकारीको नमुना परीक्षण हुने

बनेपा, ३१ साउन । यहाँबाट उत्पादन हुने तरकारीमा विषादीको मात्रा मापन गर्न नमुना परीक्षण हुने भएको छ ।

काभ्रेपलाञ्चोकबाट उत्पादन गरेको तरकारीमा विषादीको मात्रा बढी भएको भन्दै कृषकको तरकारी बिक्री वितरणमा गिरावट आएपछि कृषकको दबाबमा कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि नै लागू हुने गरी उत्पादित तरकारी काठमाडौँ लगेर नमुना परीक्षण गर्ने भएको हो ।
खासगरी जिल्लाको तरकारीको पकेट क्षेत्र मानिएको कुशादेवी, पाँचखाल, उग्रचण्डीनाला, काभ्रे र पात्लेखेत गाविसबाट उत्पादन भएका तरकारीको नमुना सङ्कलन केन्द्रबाट लिइएर विषादीको मात्रा परीक्षण गर्न लागिएको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ कृषि अधिकृत सहदेवप्रसाद हुमागार्इंले जानकारी दिनुभयो ।
जिल्लाभरि नै तरकारीको व्यावसायिक खेती भएको छ तर छरिएको ठाउँबाट लगेर परीक्षण गर्न मुस्किल पर्छ उहाँले भन्नुभयो । जिल्लाबाट उत्पादन भएको बोडी, काँक्रो, लौका, घिरौँला, काउली र बन्दागोभीमा विषादीको नमुना परीक्षण गरिनेछ ।
वरिष्ठ अधिकृत हुमागाईंले तत्कालका लागि करिब २५ वटा तरकारीको नमुना परीक्षण गरी त्यसको रिपोर्ट सार्वजनिक गरिने जानकारी दिँदै कृषकले विषादीको प्रयोग गरेपछि पर्खनुपर्ने समय ख्याल नगरेका कारण समस्या आएको बताउनुभयो ।
उहाँले विषादी न्यूनीकरणका लागि जिल्लामा चेतनामूलक कार्यक्रमसमेत सञ्चालन हुने उल्लेख गर्दै कृषकलाई खेतीमा जैविक र वानस्पतिक विषादीको प्रयोग गर्न सुझाव दिनुभएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०७१