शनिबार, बैशाख ८, २०८१

कृषक तरकारीखेतीतर्फ आकर्षित

मेलम्ची, ३० साउन । सिन्धुपाल्चोक शिखरपुर–४ का कृषक अहिले तरकारीखेतीतर्फ आकर्षित भएका छन् । व्यावसाहिक रुपमा तरकारीखेती गर्न थालेपछि कृषकहरू विस्तारै लाभान्वित हुन थालेका छन् । पहिला आफ्नो जीविकोपार्जनका लागि मात्र तरकारीखेती गर्ने कृषक कृषिबाट मनग्य फाइदा हुने भएपछि व्यावसायिक रुपमै तरकारीखेतीमा लागेका हुन् । मौसमी र बेमौसमी गरी दुई प्रकारका खेती लगाई उब्जाएको तरकारी बजारमा मागअनुसार निर्यात गर्न थालेपछि फाइदा देखेका स्थानीय कृषक लेखनाथ खतिवडाले आफूले व्यावसायिक रुपमै तरकारीखेती अँगाल्दै जाने बताउनुभयो ।
गत वर्ष गोलभेँडा, काउली, बन्दा, आलुलगायतका विभिन्न किसिमका तरकारी उत्पादन गरी रु तीन लाखभन्दा माथि आम्दानी भएको र यस वर्ष तिनै तरकारी उत्पादन गरी रु चार लाख ५० हजार आम्दानी गरेको उहाँले बताउनुभयो । यसैगरी, शिखरपुरकै अर्का कृषक गङ्गाहरि दुलालले तरकारी व्यवसायबाट गत वर्ष रु दुई लाख २५ हजार आम्दानी भएको र गत वर्षको तुलनामा अहिले रु तीन लाख ७० हजार आम्दानी भएको जानकारी दिनुभयो । आफूले उत्पादन गरेका तरकारी सो क्षेत्रमा मात्र नभई उपत्यकाभित्र पनि निर्यात हुने गरेको स्थानीय कृषकले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७१