जाजरकोट, २८ साउन । जिल्लाका किसानले यहाँका विभिन्न जङ्गलमा खेर गइरहेको चिउरीको बिजुला सङ्कलन गरी घरमै पैसा पाउने भएका छन् । जिल्लाका दुई ठाउँमा बिजुला सङ्कलन केन्द्र स्थापना गरी किसानलाई सङ्कलन केन्द्रमा बिजुला ल्याएर पैसा लैजान आग्रह गरिएको कुशे लघु घरेलु सहकारी संस्थाका अध्यक्ष शीला नेपालीले बताउनुभयो ।
पूर्वका डाँडागाउँ गाविसको चिसापानी र खलङ्गा गाविस वडा नं ८ पिपेमा चिउरीको बिजुला सङ्कलन केन्द्र स्थापना गरिएको छ । जाजरकोटका खगेनकोट, डाँडागाउँ, लहाँ, रग्दा र खलङ्गा गाविस चिउरीको बिजुला बढी पाइने पकेट क्षेत्र हुन् । चिउरीको बिजुला सङ्कलन गरेर घ्यु बनाउन धेरै मिहिनेत लाग्ने र दुःखअनुसारको कमाइ नहुने हँुदा यहाँका किसानले बिजुला सङ्कलन गर्न इच्छा नदेखाउने गरेका खगेनकोटका पूर्व गाविस अध्यक्ष हीरालाल खत्रीले बताउनुभयो । अहिले यी दुई ठाउँमा बिजुला सङ्कलन केन्द्र स्थापना भएपछि मानिसहरुले जङ्गलमा गएर दिनभरी बिजुला जम्मा गरिरहेका डाँडागाउँका किसान रणबहादुर खत्रीले बताउनुभयो ।
Add Comment