शनिबार, बैशाख १, २०८१

कृषि उत्पादनको आयात घटाउन पारिवारिक खेती

parajuliकाठमाडौँ, २८ साउन । कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले कृषि उत्पादनको आयात घटाउन पारिवारिक खेती सहयोगी हुने बताउँदै त्यसप्रति सचेतना बढाउनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्षको सन्दर्भमा हिजो कृषि विकास मन्त्रालयमा अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष राष्ट्रिय कार्यान्वयन समिति र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पराजुलीले करेसाबारी र घरबगैँचा खेतीतर्फ सर्वसाधारणलाई अभिप्रेरित गर्नुपर्ने बताउनुभयो ।
‘कृषिजन्य उत्पादनको अधिक आयातका कारण बढ्दै गएको व्यापार घाटा कम गर्न पारिवारिक खेतीबाट सघाउ पुग्ने भएकाले त्यसतर्फ सहर र ग्रामीण क्षेत्रका बासिन्दालाई प्रोत्साहन गर्नुपर्छ,’ उहाँले भन्नुभयो । परिवारका आवश्यकता परिपूर्ति गर्न पनि पारिवारिक खेती उपयोगी हुने तर्क गर्दै उहाँले जलवायु परिवर्तनका कारण परिरहेको असर र कार्बनडाइअक्साइड उत्सर्जन नियन्त्रणमा पनि पारिवारिक खेतीले सघाउ पुग्ने भएकाले अन्तर्राष्ट्रिय समुदायले यसको प्रवद्र्धनमा जोड दिएको उल्लेख गर्नुभयो ।
कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले चरम भोकमरी हटाउन तथा सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने दिशामा सघाउन पारिवारिक खेती सहयोगी हुने विचार व्यक्त गर्दै राष्ट्र सङ्घले अघि सारेका कार्यक्रममा नेपालको सधैँ सहयोग एवम् समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । गरिबीविरुद्ध लड्न तथा खाद्य सुरक्षा सुनिश्चित गर्न संयुक्त राष्ट्र सङ्घले सन् २०१४ लाई विश्वभर अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्षका रूपमा मनाउने निर्णय गरेको थियो । राष्ट्र सङ्घको निर्णयअनुरूप नेपालमा पनि पारिवारिक खेती वर्ष मनाउन सरकारले काठमाडौँ उपत्यकामा बसोबास गर्ने खेतबारी नभएका १२५ जनालाई गमलाखेतीका निम्ति तालिम दिनुका साथै जनही नगद रु चार हजार उपलब्ध गराएको थियो । कार्यक्रममा दिइएको जानकारीअनुसार सहरी नमुनाखेतीका रूपमा तालिम लिएका ती व्यक्तिले गमलामा सागसब्जी उत्पादन गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०७१