बिहिबार, फाल्गुन १७, २०८०

कैलाली दूध उत्पादनमा आत्मनिर्भरतातिर

अत्तरिया (कैलाली), २७ साउन । कैलाली जिल्ला दूध उत्पादनमा आत्मनिर्भरतीर बढेकोछ । दुग्ध व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएपछि यो जिल्ला दूध उत्पादनमा आत्मनिर्भर बनेको हो । जिल्लाका किसान दूध उत्पादनतर्फ आकर्षित भएपछि यहाँबाट दूध अन्य जिल्लामा निर्यात हुन थालेको जिल्ला पशुसेवा कार्यालय कैलालीले जनाएको छ । कैलालीमा उत्पादन भएको दूध जिल्ला बाहिर निर्यात हुने गरेको बताउँदै पशुसेवा कार्यालयका प्रमुख डा विनय कर्णले भन्नुभयो व्यावसायिक रुपमा गाई भैँसीपालनमा यहाँका कृषकको आकर्षण बढेसँगै बर्सेनि दूध उत्पादनमा वृद्धि हुँदै आएको छ ।
पशुसेवा कार्यालय कैलालीको गत वर्षको तथ्याङ्कअनुसार २२ हजार १६४ मेट्रिक टन गाईको र ३४ हजार ५९२ मेट्रिक टन भैँसीको गरी वार्षिक ५६ हजार ७५६ मेट्रिक टन दूध उत्पादन भएको छ । दूधमा औसत राष्ट्रिय आवश्यकता ५७ भएको र कैलालीमा ७३.१६ उपलब्धता भएकाले कैलाली दूध उत्पादनमा आत्मनिर्भर बनेको सो कार्यालयको तथ्याङ्कले देखाएको छ । कैलालीबाट आजकल दैनिक दुई हजारदेखि दुई हजार ५०० लिटर दूध जिल्ला बाहिर निर्यात हुने गरेको दुग्ध विकास आयोजना अत्तरियाले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, साउन २७, २०७१