शुक्रबार, चैत्र १६, २०८०

खोटाङ्गका कुखुरामा अज्ञात रोग

खोटाङ, २६ साउन । खोटाङ्ग जिल्लाको उत्तरी गाविस जालपाका किसानले पालेको कुखुरामा अज्ञात रोग देखापरेपछि सो क्षेत्रका किसानहरु अन्योलमा परेका छन् । अज्ञात रोगका कारण जालपा–३, ७ र ९ लगायतका किसानले पालेको ‘लोकल’ कुखुरा धमाधम मर्न थालेपछि उनीहरु चिन्तामा परेका हुन् । रोग लागेका कुखुराहरुको टाउकोमा घाउ हुने, टाउको पाक्ने, आँखा पाक्ने, विस्तारै आँखा बन्द हुनेलगायतका लक्षण देखापरेको तीन/चार दिनमै कुखुरा मर्ने गरेको स्थानीबासीहरुले बताएका छन् । स्थानीय जनताका अनुसार रोगले एकै घरका १५ वटासम्म कुखुरा मरेका छन् ।

कृषि सेवा केन्द्रका कृषि प्राविधिक गङ्गा विश्वकर्माका अनुसार अज्ञात रोगले स्थानीय अमर विश्वकर्मा, धनशोभा राई, विष्णु श्रेष्ठ, कालीबहादुर राईलगायतका किसानको दर्जनौँ कुखुरा मरेका छन् ।
महिना दिन अघिदेखि फैलिएको यो रोगले क्रमशः महामारीको रुप लिन थालेको अमर विश्वकर्माले बताउनुभयो ।

प्रकाशित मिति: सोमवार, साउन २६, २०७१