शुक्रबार, चैत्र १६, २०८०

चिलिङ भ्याट उपलब्ध गराएपछि किसान हर्षित

इलाम, २१ साउन । जिल्ला पशुसेवा कार्यालयले दूध चिस्याउने चिलिङ भ्याट उपलब्ध गराएपछि जिल्लाको दक्षिणी चुलाचुली गाविसका बासिन्दा हर्षित भएका छन् । पहिले ग्वालालाई सस्तोमा दूध बेच्ने किसान अहिले अन्नपूर्ण कृषि सहकारी संस्थामा लगेर दूध बेच्न थालेका छन् । गत असार पहिलो सातादेखि चिलिङ भ्याट राखेपछि किसानलाई दूध बिक्री गर्न सहज भएको हो । सहकारीले किसानले दैनिक ल्याउने २५० लिटर दूधलाई चिलिङ भ्याटमा राखेर तरहरा, कामधेनु दुग्ध विकास संस्थालाई बिक्री गर्ने गरेको छ ।
चुलाचुलीमा गाईभैँसीपालक किसानको सङ्ख्या बढी छ । पशुसेवा कार्यालयको रु एक लाख अनुदान र संस्थाको रु एक लाख गरी दुई लाखको लागतमा ५०० लिटर क्षमताको चिलिङ भ्याट राखेर दूध सङ्कलन गर्दै आएको संस्थाका अध्यक्ष विष्णुभक्त पोखरेलले बताउनुभयो । यसअघि विद्युत् लाइन विस्तार नहुँदा समस्यामा परेका चुलाचुलीमा केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । संस्था आफैँले पनि जेनेरेटर खरिद गरी चिलिङ भ्याट सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७१