बुधबार, बैशाख १२, २०८१

मुस्ताङमा स्याउ उत्पादन २८ प्रतिशतले बढ्ने

म्याग्दी, २१ साउन । स्याउको राजधानी भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष २८ प्रतिशतले स्याउको उत्पादन बढ्ने भएको छ । अनुकूल मौसमका कारण उत्पादन बढ्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका वरिष्ठ कृषि विकास अधिकृत रेवतीरमण पौडेलले जानकारी दिनुभयो । गत वर्ष जिल्लाभर तीन हजार ५०० मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष प्रारम्भिक चार हजार ५०० मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।
मुस्ताङका किसानले भदौ महिनाको दोस्रो सातादेखि स्याउ टिप्न सुरु गर्दछन् । बजारको उचित व्यवस्था र उत्पादन वृद्धि भएपछि किसान खुसी भएका छन् । स्याउको फूल खेल्ने बेलामा लगातार हिउँ परेपछि विगत केही वर्षदेखि मुस्ताङमा स्याउको उत्पादन निरन्तर घट्दै आएको थियो । मुस्ताङको मार्फा, टुकुचे, जोमसोम, लेते, कागबेनी, मुक्तिनाथ, झोङलगायत ८६७ हेक्टर क्षेत्रफलमा व्यावसायिक स्याउखेती हुने कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष स्याउको उत्पादन घटेका कारण बजार मूल्य प्रतिकिलो रु ६५ भन्दामाथि थियो । यस वर्ष बढीमा रु ६० मा उपभोक्ताले मुस्ताङी स्याउ खरिद गर्न पाउने अनुमान गरिएको छ । उत्पादन बढेपछि किसानलाई मूल्य घटाउन आग्रह गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७१