बुटवल, २० साउन । रुपन्देहीमा गएको एक वर्षमा ३८ हजार पशुमा कृत्रिम गर्भाधान गरिएको छ । जिल्ला पशु सेवा कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७०/०७१ मा २४ हजार ६९० गाई, १३ हजार २३३ भैँसी र १४४ वटा बाख्रामा कृत्रिम गर्भाधान गरिएको हो । जुन अघिल्ला वर्षहरूको तुलनामा बढी रहेको पशु अधिकारीहरूको दाबी छ । अघिल्लो वर्ष कृत्रिम गर्भाधानमा पश्चिमाञ्चलमै पहिलो भएको रुपन्देही जिल्ला यस वर्ष पनि प्रथम स्थान लिन सफल भएको छ । जिल्लाका १६ सामुदायिक पशु प्रजनन केन्द्रसहित ४० स्थानमा ४० जना प्राविधिक कृत्रिम गर्भाधानका लागि खटिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लक्ष्मण ढकालले बताउनुभयो । यी सेवा केन्द्रहरूमा पुगेर कृत्रिम गर्भाधान गराउने कृषकले एउटा पशु कृत्रिम गर्भाधान गराएबापत रु १०० को सुविधा पाउने गरेका छन् । कृषकले पाउने १०० को सुविधा र गाउँस्तरसम्म सेवा केन्द्रको बिस्तार भएपछि कृत्रिम गर्भाधानतर्फ कृषक आकर्षित भएका डा. ढकालले बताउनुभयो । कृत्रिम गर्भाधानपछि १०० बराबरको औषधि, घाँस वा अन्य सुविधा कृषकले पाउने गरेका छन् । कृत्रिम गर्भाधानबाट जन्मिएको वर्णशङ्कर जातको पशुले राम्रो दूध दिने र हुर्कने हुँदा कृषक आकर्षित भएका हुन् ।
Add Comment