आइतवार, मंसिर २४, २०८०

दिक्तेलमा अण्डा उत्पादन सुरु

खोटाङ, २० साउन । जिल्लामै पहिलोपटक अण्डा उत्पादन सुरु भएको छ । सदरमुकाम दिक्तेलस्थित कालिका कृषि सहकारी संस्था लिमिटेडले जिल्लामै पहिलो लेयर्स जातको कुखुराबाट अण्डा उत्पादन सुरु गरेको हो । दैनिक साढे पाँच सयभन्दा बढी अण्डा उत्पादन सुरु भएको सहकारीका अध्यक्ष सुवास जोशीले बताउनुभयो । जोशीले भन्नुभयो, “उत्पादित अण्डा जिल्लाको १४ ठाउँमा बिक्री केन्द्र स्थापना गरेर बिक्री गर्ने तयारी गरेका छौँ ।” अध्यक्ष जोशीका अनुसार गत फागुन १५ गते चल्ला लगाइएको फार्ममा अहिले एक हजार ११ वटा कुखुरा छन् । यसै महिनाबाट अण्डा दिन सुरु गरेको कुखुराको हेरचाह सहकारीमा आवद्ध सेयर सदस्य आफैँले गर्ने गरेका छन् । फार्ममा उत्पादित अण्डा जोडीको रु ३५ मा बिक्री हुने गरेको छ । तराईबाट ल्याइने अण्डाभन्दा ताजा र स्वस्थ्यकर हुने भएकाले यहीँ उत्पादित अण्डा खान थालेको उपभोक्ताको भनाइ छ ।
यातायात समस्याले जिल्लामा ताजा अण्डा उपभोग गर्न नपाएपछि अण्डा उत्पादनका लागि फर्म सञ्चालन गरिएको अध्यक्ष जोशीले बताउनुभयो । उहाँका अनुसार दैनिक ९०० अण्डा उत्पादन गर्ने लक्ष्य राखिएको छ । सहकारीको रु छ लाख ७० हजार र जिल्ला पशु सेवा कार्यालयमार्फत सरकारको रु पा“च लाख ६० हजार गरी रु १२ लाख ३० हजार लगानीमा फार्म सुरु गरिएको अध्यक्ष जोशीको भनाइ छ । नारायणघाटस्थित अविनास ह्याचरीबाट प्रतिवटा रु १५२ ले चल्ला खरिद गरिएको उहाँले जानकारी दिनुभयो । बाहिरबाट आयात गरिएको अण्डा हल्लिनुका साथै लामो समयसम्म राखिने भएकाले छिट्टै बिग्रेर जाने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । उक्त अण्डा खानुभन्दा नखानु नै जाति हुने कार्यालयको सुझाव छ । – कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, साउन २०, २०७१