चितवन, १९ साउन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले ५० वटा अनुसन्धान पूरा गरेको छ । आन्तरिक स्रोतबाट २९ र वैदेशिक निकायको सहयोगमा २१ अनुसन्धान सम्पन्न गरिएको विश्वविद्यालयले जानकारी दिएको छ । सरकारले कृषिसम्बन्धी अध्ययन, अनुसन्धान, कृषि प्रविधि र ज्ञानलाई जनस्तरसम्म प्रसार गर्ने काम एउटै निकायबाट गर्ने उद्देश्यले कृषि तथा वन विश्वविद्यालय स्थापना गरेको हो । अनुसन्धानका लागि बजेट नआए पनि अध्ययनका लागि आउने बजेटबाटै अनुसन्धानको काम अगाडि बढाएको विश्वविद्यालयका रजिष्ट्रार डा. सूर्यकान्त घिमिरेले बताउनुभयो । विश्वविद्यालयले रु एक अर्ब ३५ करोड माग गरेकामा गत वर्ष सरकारले जम्मा रु ३३ करोडमात्रै दिएको थियो । विश्वविद्यालयले अनुसन्धानका लागि रु चार करोड माग गरेको थियो ।
बजेट कम भएपछि रु २८ लाखमात्र अनुसन्धानमा खर्च गरिएको विश्वविद्यालयका रजिष्ट्रार घिमिरेले बताउनुभयो । नेपालमा कृषिबारे यसअघि राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले मात्र अनुसन्धान गर्दै आएको थियो । “नार्कले अनुसन्धानका लागि वर्षको डेढ अर्ब रुपैयाँभन्दा बढी पाउँछ । हामी अध्ययन अनुसन्धान र प्रसारको काम गर्न स्थापना भएको निकायले पाउने बजेट भने यसको तुलनामा साह्रै नै न्यून छ,” विश्वविद्यालयका उपकुलपति प्रा. डा. कैलाशनाथ प्याकुरेलले भन्नुभयो । उहाँले स्वतन्त्र ढङ्गबाट काम गर्ने अवस्था आएमा अनुसन्धानका लागि दाताहरुको खोजी गर्न सकिने पनि बताउनुभयो । आन्तरिक स्रोत कम भएपनि दाताहरुको सहयोगमा महत्वपूर्ण अनुसन्धानका काम भइरहेको उहाँले बताउनुभयो । विश्वविद्यालयका अनुसन्धान निर्देशक डा. नवराज देवकोटाले बजेट पर्याप्त नभए पनि अनुसन्धानको काम भने जारी राखिएको बताउनुभयो । यन चितवनको रामपुरमा हुने गरेको छ ।
Add Comment