आइतवार, मंसिर २४, २०८०

दुई महिना बितिसक्दा पनि खाद्यान्न ढुवानी हुन सकेन

दार्चुला, १८ साउन । दार्चुला जिल्लामा टेन्डर स्वीकृत गरेर पठाएको दुई महिना बितिसक्दा पनि चामल ढुवानी हुन सकेको छैन । यस वर्षका लागि जिल्लाका तीनओटा खाद्य डिपोमा टेन्डर स्वीकृत भएको छ । दार्चुलामा पटक–पटक खाद्यान्न सङ्कट हुँदै आएको छ । यस वर्ष खाद्यान्न ढुवानीका लागि गत जेठमा टेन्डर स्वीकृत भएको भए पनि केन्द्रीय कार्यालयले अहिलेसम्म पत्राचार नगरेका कारण खाद्यान्न ढुवानी हुन नसकेको नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीका प्रमुख सुरेन्द्रराज विष्टले जानकारी दिनुभयो । यो वर्ष खण्डेशवरी डिपोका लागि एलवी कन्डिसन, परिवगडका लागि पाण्डे ढुवानी सेवा र सुनसेरनका लागि गीता ढुवानी सेवाको टेन्डर स्वीकृत भएको थियो । गत वर्षको भन्दा कम मूल्यमा टेन्डर स्वीकृत भए पनि केन्द्रले चासो नदेखाएका कारण खाद्यान्न ढुवानीमा ढिलाइ भएको कार्यालय प्रमुख विष्टले बताउनुभयो । समयमै खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लाका घुसा, खण्डेश्वरी, गुल्जर लगायतका दर्जनौँ गाविसमा खाद्यान्न सङ्कट चर्किंदै गएको छ ।

प्रकाशित मिति: आइतवार, साउन १८, २०७१