शनिबार, बैशाख ८, २०८१

जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौँ, १५ साउन । नेपाल चेम्बर अफ कमर्सले ल्याटिनअमेरिकी मुलुक पेरुसँग जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ । चेम्बरले नेपालका लागि पेरुका गैरआवासीय राजदूत हाभिएर पौलिनिचसँग गरेको छलफल कार्यक्रममा त्यस्तो आग्रह गरेको हो । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा लगानीका प्रशस्त संभावना रहेका र त्यसबाट प्रतिफल प्राप्त गर्न सहज हुने भन्दै ती क्षेत्रमा लगानीका लागि पेरुका उद्यमी–व्यवसायीलाई प्रोत्साहन गर्न अनुरोध गर्नुभयो ।
राजदूत पौलिनिचले नेपालसँग नगन्य व्यापार भएको सन्दर्भमा द्विपक्षीय आर्थिक सहयोगका अवसरको खोजीका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । खनिजजन्य उद्योगका कारण आफ्नो मुलुकको आर्थिक वृद्धिदर सन्तोषजनक रहेको भन्दै उहाँले खनिजजन्य उद्योगको क्षेत्रमा नेपालसँग सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: बिहिबार, साउन १५, २०७१