सर्लाही, १२ साउन । उखुबालीमा फट्याङ्ग्रा प्रकोपबारे अध्ययन गर्न कृषि विभागले खटाएको केन्द्रीय टोली सर्लाही आएको छ । क्षेत्रीय कृषि निर्देशनालय हरिहरभवन, ललितपुरका वरिष्ठ बाली संरक्षण अधिकृत लोकेन्द्र बोहोराको नेतृत्वमा आएको चार सदस्यीय टोलीले आइतबार दिनभर सर्लाहीको उत्तरी क्षेत्रस्थित फट्याङ्ग्रा प्रकोपित क्षेत्रको स्थलगत अध्ययन गरेको छ । “फट्याङ्ग्राको प्रकोपले उखुबालीमा निकै क्षति पु¥याएको भन्ने खबरका आधारमा हामी अध्ययनका लागि सर्लाही आएका हौँ”, बोहोराले भन्नुभयो, “फट्याङ्ग्रा प्रकोप नियन्त्रणका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपायाका बारेमा कृषि विभागमा प्रतिवेदन पेस गर्छौं ।” स्थलगत अध्ययन पश्चात् टोलीले तत्काल चालु आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी फट्याङ्ग्रा नियन्त्रणका लागि विषादीलगायतको व्यवस्था गर्न जिल्ला कृषि विकास कार्यालयलाई निर्देशन दिएको छ । “तत्काल जिल्ला कृषि विकास कार्यालयले फट्याङ्ग्रा प्रकोप नियन्त्रणका लागि विषादीलगायत व्यवस्था गर्न भनेका छौँ”– बोहोराले भन्नुभयो । जिल्ला कृषि विकास कार्यालय मलङ्गवाका प्रमुख युगल किशोर तिवारीले कृषि विभागले खटाएको केन्द्रीय टोलीले जिल्लास्थित फट्याङ्ग्रा प्रकोपित उखुखेतीको स्थलगत अध्ययन गरेको जानकारी दिनुभयो ।
टोलीसँगै जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिवारी, बाली विकास अधिकृत रामप्रकाश महतो, सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगका उखु उपप्रबन्धक दिवाकर पौडेल, उखुबाली विकास अधिकृत सुवास झालगायत सहभागी रहेका थिए ।
विगत दुई महिनाभन्दा बढी समयदेखि जिल्लाको उत्तरी क्षेत्रस्थित साविक हरिवन, घुर्कौली, सासापुर, अत्रौली, नेत्रगंज, पिपरियालगायत गाविसमा गरिएको उखुखेतीमा फट्याङ्ग्राको प्रकोपले निकै क्षति पु¥याइरहेको छ । फट्याङ्ग्राले उखुको पात, गुवालगायत खाएर नष्ट पारेका कारण यस वर्ष उखु उत्पादनमा समेत निकै कमी हुने कृषकको भनाइ छ । फट्याङ्ग्रा प्रकोपका कारण यस क्षेत्रका २०० बिघाभन्दा बढी क्षेत्रफलमा गरिएको उखुबालीमा निकै क्षति पुगेको किसान नेता राजकुमार उप्रेतीले गुनासो गर्नुभयो । अध्ययनका लागि केन्द्रीय टोली आउनु स्वागतयोग्य रहेको उल्लेख गर्दै उप्रेतीले तत्काल समस्या समाधानका लागि उचित पहलका लागि आग्रह गर्नुभयो । सर्लाही मुलुकमै सबैभन्दा बढी अर्थात् २१ हजार हेक्टर क्षेत्रफलमा उखुखेती हुने जिल्ला हो । जिल्लामा हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योग लिमिटेड र धनकौल पश्चिम गाविसस्थित अन्नपूर्ण सुगर मिल सञ्चालनमा छन् ।
Add Comment