आइतवार, जेष्ठ १३, २०८१

कृषि मजदुरको अभावमा पैँतीस प्रतिशतमात्र धान रोपाइँ

जनकपुरधाम, १२ साउन । अन्नको भण्डार मानिने धनुषा जिल्लामा हालसम्म ३५ प्रतिशतमात्र धान रोपाइँ हुन सकेको छ । जिल्ला कृषि विकास कार्यालय धनुषाका अनुसार बेर्ना तयार हुनुभन्दा पहिले पानी परेको तथा बेर्ना तयार भएपछि पानी नपरेकाले यस वर्ष हालसम्म धनुषामा ३५ प्रतिशतमात्र धान रोपाइँ हुन सकेको छ । पूर्वी कमला क्षेत्रमा पर्याप्त मात्रामा पानी भए पनि कृषि मजदुरको अभावमा त्यस क्षेत्रमा रोपाइँ हुन नसकेको निमित्त प्रमुख रमेशप्रसाद साहको भनाइ छ । ६० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने धनुषा जिल्लामा करिब ६५ प्रतिशत किसान धानखेतीमा संलग्न रहेका छन् । यहाँ किसानले ३० प्रतिशत सोना मन्सुली, १५ प्रतिशत रामविलास, १५ प्रतिशत बास्मती, २५ प्रतिशत स्वर्णासव तथा बाँकी २५ प्रतिशत अन्य जातको धान लगाउँछन् । धनुषा जिल्लामा ३६ हजार हेक्टर सिञ्चित क्षेत्र रहेको छ भने बाँकी हेक्टरमा आकाशेपानीको भरमा खेती हुने गरेको छ ।        -कृषि साप्ताहिक

प्रकाशित मिति: सोमवार, साउन १२, २०७१