रत्ननगर ९चितवन०, १२ साउन । खाद्यान्न बालीमा प्रयोग हुने विषादीमध्ये तरकारीमा अत्यधिक विषादी प्रयोग हुने गरेको कृषि विज्ञहरूले बताएका छन् । तरकारीमा मात्रै करिब ९० प्रतिशत विषादी प्रयोग हुने गरेको छ । १० प्रतिशतमात्रै अन्य बालीमा विषादी प्रयोग हुने गरेकाले तरकारी बालीमा विशेष ध्यान दिन कृषि विज्ञहरूले आग्रह गरेका छन् । जिल्ला कृषि विकास कार्यालय चितवनले दिएको तथ्याङ्कमा यहाँ प्रतिहेक्टरमा १४ सय ग्राम विष प्रयोग भइरहेको छ । कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले मानिसको आहारमा विषादीको अवशेष चिन्ताजनक रहेकाले सावधानी अपनाउनुपर्ने बताउनुभयो ।
चितवनमा यो वर्ष विषादीको प्रयोगमा केही कमी आएको उहाँले बताउनुभयो । नेपालका जिल्लाहरूमध्ये विषादी प्रयोगका दृष्टिले चितवन २५औँ जिल्लामा पर्ने कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । कार्यालयले दिएको तथ्याङ्कअनुसार नेपालमा गएको वर्ष ३४५ टन विषादी आयात भएको छ । जसमा किटनासक विषादी ३३ प्रतिशत र रोगनासक विषादी ४८ प्रतिशत छ । विषादीका लागि करिब ३७ दशमलव ४९ प्रतिशत रकम खर्च भएको समेत सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । एक तथ्याङ्कअनुसार विश्वमा कुनै न कुनै विषादीका कारण चार करोड मानिसलाई असर पर्ने गरेको जनाइएको छ । विश्व खाद्य सङ्गठनका अनुसार प्रतिवर्ष ३० लाख घटनामा वार्षिक ३ दलमलव ५५ लाख मानिसको विषादीकै कारण ज्यान जाने गरेको छ । त्यसैले चितवनमा विभिन्न चेतनामूलक कार्यक्रम गरी विषादी न्युनीकरणको प्रयास थालिएको कृषि कार्यालयले जनाएको छ । यहाँ प्राङ्गारिक कृषि खेतीलाई प्रोत्साहन गरिएको र करिब २०० बढी किसान यसमा सक्रिय रहेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।
जिल्लामा सबै मौसममा गरेर करिब १३ हजार हेक्टर क्षेत्रफलमा तरकारीखेती हुने गरेको छ । राजधानीमा केही हप्ताअघि मात्रै गरेको विषादी परीक्षणमा पनि चितवनको तरकारी र केरामा अत्यधिक विषादी पाइएको छ । त्यसैले सचेत हुन कृषि कार्यालय चितवनले किसानमा आग्रह गरेको छ । यहाँ उत्पादित तरकारी देशका मुख्य सहरहरूमा जाने गर्दछ ।
Add Comment