मङ्लबार, बैशाख ११, २०८१

विषादीको प्रयोगबारे किसान र उपभोक्तालाई जनचेतना आवश्यक

काठमाडौँ, १० साउन । राष्ट्रिय उपभोक्ता मञ्चले तरकारी तथा फलफूलमा प्रयोग भएका विषादी नियन्त्रणमा सरकारले चालेको कदम सकारात्मक भएको उल्लेख गर्दै किसान तथा उपभोक्तामा विषादीबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन आवश्यक भएको जनाएको छ । तरकारी तथा फलफूल उत्पादन गर्ने किसानलाई विषादीको प्रयोग सम्बन्धमा उचित तालिम, प्रशिक्षण तथा जागरणका कार्यक्रम सञ्चालन गरी जागृत र उत्प्रेरित गर्नुपर्नेमा मञ्चले जोड दिएकोa छ । विषादी मापन कार्यविधिले उपभोक्ताको स्वास्थ्य र किसानका उत्पादनका सम्बन्धमा के गर्ने भन्ने विषयमा स्पष्ट हुन नसकेको उल्लेख गर्दै मञ्चले किसान र उपभोक्ता दुवै समुदायको भलो हुने उपाय खोज्न सरकारसँग मागसमेत गरेको छ ।
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले  एक प्रेस विज्ञप्ति जारी गरी उपभोक्तालाई विषादीयुक्त तरकारी प्रयोग नगर्न र किसान तथा व्यापारीलाई तरकारी तथा फलफूलमा घातक विषादी प्रयोग नगर्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । त्यस्तै विषादी प्रयोगको हल्लासँगै व्यापारीले जैविक तरकारी तथा फलफूलको नाममा झुक्याएर विषादीयुक्त खाद्यान्न बिक्री गरिरहेको उल्लेख गर्दै उहाँले त्यसतर्फ पनि कृषि विकास मन्त्रालय र सम्बन्धित नियमन निकायको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७१