मङ्लबार, बैशाख ४, २०८१

दुई हाते ट्र्याक्टर वितरण

बनेपा, १० साउन । कृषकलाई यहाँ रु ४६ लाख ६० हजार बराबरको हाते ट्र्याक्टर वितरण गरिएको छ । केही समययतादेखि कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले उनीहरूलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको हो । जिल्लाको उग्रचण्डीनाला, अनेकोट, महादेवस्थान, कुशादेवी, खनालथोक गाविस र बनेपा, पनौती तथा पाँचखाल नगरपालिकाका कृषक समूह र कृषि सहकारीमार्फत १०२ वटा हाते ट्र्याक्टर वितरण गरिएको वरिष्ठ कृषि अधिकृत सहदेवप्रसाद हुमागाईंले जानकारी दिनुभयो । वरिष्ठ अधिकृत हुमागाईंका अनुसार कृषकलाई पावर टिलर र मिनीपावर टिलर हाते ट्र्याक्टर रु १९ हजारदेखि रु ६० हजारसम्ममा प्रदान गरिएको हो । वितरण गरिएका ट्र्याक्टरमध्ये ८८ वटा कृषि इन्जिनियरिङ निर्देशनालयबाट र १४ वटा बाली विकास निर्देशनालयबाट उपलब्ध भएको थियो ।
सो ट्र्याक्टरको बजार मूल्य रु ३८ हजारदेखि रु एक लाख ३० हजारसम्म रहेको छ । हामीले कृषकको मागअनुसार पूरा गर्न सकेनाँै वरिष्ठ कृषि अधिकृत हुमागाईंले भन्नुभयो । उहाँले झन्डै ३०० निवेदन दिएका कृषकलाई हाते ट्र्याक्टर उपलब्ध गराउन नसकिएको बताउनुभयो । हाते ट्र्याक्टरको माग अत्यधिक भएपछि केही समयअघि कृषि कार्यालयले ट्र्याक्टरको सिफारिस काभ्रेपलाञ्चोकमा रोक्का गरेको थियो । आर्थिक वर्ष ०७०/०७१ मा ती हाते ट्र्याक्टर कृषकलाई वितरण गरिएको हो । यसअघि गत फागुनमा पनि करिब १२ वटा हाते ट्र्याक्टर वितरण गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७१