बिहिबार, चैत्र १५, २०८०

भकारो सुधार कार्यक्रम सम्पन्न

ललितपुर, ९ साउन । जिल्ला कृषि विकास कार्यालय ललितपुरले आव २०७०/७१ मा २ सय ५० घरमा भकारो सुधार कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको दहचोकी गाविसका १२५ र गोटिखेल गाविसका १२५ घरमा सो कार्यक्रम गरिएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत हरि पण्डितले जानकारी दिनुभयो ।   उहाँका अनुसार सरकारले कृषकलाई सो कार्यक्रम गर्नका लागि जिल्ला कृषि विकास कार्यालयमार्फत प्रत्येक घरलाई रु पाँच हजार दुई सय दिएर सहयोग गरेको थियो । कार्यक्रममा सहभागी हुनका लागि एक घरमा कम्तीमा तीन  गाई वा भैँसी पालेको हुनुपर्ने नीतिअनुरुप ती दुई गाविसका घर छनोटमा परेका हुन् ।  बालीनालीका लागि गाईभैँसीको गोबरभन्दा पिसाब बढी राम्रो हुने र सफा तरिकाले प्राङ्गारिक मलको प्रयोग गर्न सकिने भएकाले कृषकहरु सो विधिप्रति आकर्षित भएको कृषि विकास कार्यालयले जनाएको छ ।
सो कार्यालयका प्राविधिक सहायक मुरलीधर घिमिरेका अनुसार यसरी नै कृषक अग्रसर हुने हो भने चालु आवमा यस कार्यक्रममा सहभागी कृषकको सङ्ख्यामा वृद्धि हुने पक्का छ ।   जिल्ला कृषि विकास कार्यालयबाट छनोट गरिएका गाविसमा सरकारले सहयोग रकम दिने गर्छ । सरकारले आव ७०÷७१ देखि नै सुरु गरेको उक्त कार्यक्रम कास्की, गोर्खा, अर्घाखाँची, गुल्मी, सल्यान, काठमाडौँ, भक्तपुर र नुवाकोटलगायत ४०  जिल्लामा सरकारले गत आवमा यो कार्यक्रम सञ्चालन गरेको थियो । सञ्चालन गरिएका जिल्लामध्ये काठमाडौँमा १००, भक्तपुरमा १००, काभ्रेपलाञ्चोकमा ३५० र नुवाकोटमा ४५० तथा  बाँकी अन्य सबै जिल्लामा २५० घरले भकारो सुधार कार्यक्रम चलाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७१