शनिबार, जेष्ठ २७, २०८०

मकै र कोदोको बिज वृद्धि कार्यक्रम सुरु

बागलुङ, ८ साउन । यस जिल्लामा प्रमुख बाली मकै र कोदोको बिज वृद्धि कार्यक्रम सुरु भएको छ । हाल रहेको खाद्यान्न सङ्कट कम गर्न बालीमा उन्नत बीउको प्रयोगलाई बढाउन बिज वृद्धि गर्न थालिएको हो । स्थानीय बीउको सट्टामा उन्नत बीउको प्रयोगले १५ देखि २० प्रतिशतसम्म उत्पादन बढाउन सकिने भएपछि बालीको बिज वृद्धि गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस कार्यक्रमअन्तर्गत उन्नत मकै र कोदोको प्रजनन् र मूल बीउ जिल्लाका अधिकांश ठाउँमा वितरण गरिएको छ । बिज वृद्धि कार्यक्रमले किसानलाई बीउ छनोट गर्न पनि सघाएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । जिल्लाभर पाँच÷पाँचवटा केन्द्र छुट्टाएर मकै र कोदोको एकसाथ बिज वृद्धि गरिएको उहाँको भनाइ छ । यो वर्ष ३८ हेक्टरमा मकै र पाँच हेक्टरमा कोदोको बिज वृद्धि गरिएको अधिकृत रिजालले जानकारी दिनुभयो । बिज वृद्धि कार्यक्रमबाहेक कृषि कार्यालयले सोझै किसानलाई अनुदानमा पनि बीउ वितरण गरेको छ । बिज वृद्धि र अनुदान गरी जिल्लाभर करिब २० टन उन्नत जातको मकैको बीउ विस्तार भएको जनाइएको छ । त्यस्तै, ७०० किलोग्राम कोदोको उन्नत बीउ वितरण गरिएको छ । उन्नत जातको मकैतर्फ मनकामना १, २, ३, ५ र ६, देउती, पोसिलो, अरूण–२ लगायतको बिज वृद्धि गरिएको हो ।
उन्नत जातको कोदोमा डल्ले, काभ्रे र ओखलको बीउ वितरण गरिएको छ । बिज वृद्धि गरिएको ठाउँ आसपासका किसानले उन्नत जातको बीउ प्रयोग गर्न थालेका छन् । कृषि कार्यालयले जिल्लाभरको मकै र कोदोबालीमा उन्नत जात भित्र्याउने लक्ष्य लिएको छ । “बिज वृद्धि कार्यक्रमले जिल्लाको खाद्य सुरक्षामा पनि टेवा पुग्ने विश्वास लिएका छौँ, एउटै व्यवस्थापनमा उन्नत जात लगाउँदा २० प्रतिशतसम्म उत्पादन बढ्ने हुँदा किसानलाई पनि फाइदा छ”, अधिकृत रिजालले भन्नुभयो, “हाम्रो ठाउँमा स्थानीय जातको दबदबा छ, यसको ठाउँमा उन्नत बीउको प्रयोगलाई बढाउनु आवश्यक छ ।” जिल्लाको खरबाङ र बुर्तिवाङ क्षेत्रमा बिज वृद्धि कार्यक्रम सञ्चालन नभए पनि कार्यालयले किसानलाई उन्नत बीउ प्रदान गरेको छ । ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा किसानले उन्नत जातको बीउ पाउने गरेको कृषि कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले बताउनुभयो । कृषि कार्यालयबाहेक अन्य विभिन्न संस्थाले पनि जिल्लामा मकैको उन्नत बीउ विस्तार गर्ने काम गरिरहेका छन् । सिक्रेड नेपाल, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले, सियन सिड, लिवर्डलगायतका सङ्घसंस्थाले पनि उन्नत मकैबाली विस्तारका लागि किसानलाई सहयोग गरिरहेका छन् । ती संस्थाले बानपा–११ कुँडुले, धम्जा, तंग्रामलगायतका गाविसमा कार्यक्रम चलाएको कृषि प्रसार अधिकृत अधिकारीले जानकारी दिनुभयो । कृषि कार्यालयका अनुसार बागलुङमा २० हेक्टरमा मकै र १८ हजार हेक्टर क्षेत्रफलमा कोदोबाली लगाउने गरिएको छ । रासस

प्रकाशित मिति: बिहिबार, साउन ८, २०७१