बिहिबार, चैत्र १५, २०८०

तरकारीखेतीमा नब्बे प्रतिशत विषादीको प्रयोग

कञ्चनपुर, ८ साउन । व्यावसायिक तरकारीखेतीमा संलग्न यहाँका ९० प्रतिशत कृषकले खेतबारीमा विषादीको प्रयोगलाई बढावा दिएको पाइएको छ । तरकारीबालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न कृषकले यहाँ विषादीको प्रयोग गर्ने गरेका छन् । कृषकले कृषि प्राविधिकको सल्लाहबिनै खेतबारीमा रोपेको तरकारीका बोटदेखि फल नटिप्दासम्म अन्धाधुन्द रूपमा विषादीको प्रयोग गर्ने गरेको कृषि विकास कार्यालय कञ्चनपुरका कृषि प्रसार अधिकृत रामचन्द्र भट्टले बताउनुभयो । “निजीस्तरबाट खोलिएका एग्रोभेट सञ्चालकको सल्लाहमा कृषकले विषादीको प्रयोग गर्दै आएको पाएका छौँ,” उहाँले भन्नुभयो, “चाहिने मात्रामा प्रयोग हुने विषादीले मानव स्वास्थ्यलाई असर नगर्ने भएपनि आफूखुसी विषादी छर्किदा मात्रा बढी भएर दीर्घ रोग लाग्ने सम्भावना बढी हुन्छ ।” कृषि विकास कार्यालयले विषादी र बीउबिजन बिक्रीका लागि अनुमति दिएका ५७ वटा एग्रोभेट यहाँ सञ्चालनमा रहेका छन् । अधिकांशले भारतबाट ल्याइएको विषादी बिक्री गर्ने गरेका छन् । विषादीको डिब्बामा राखिएको लोगोले विषादी कति हानिकारक छ भन्नेबारे जानकारी दिने भएपनि भारतबाट ल्याइएको विषादीमा लोगो नहुँदा कृषकले विषादीको मात्रा आफूखुसी राख्नु परेको एग्रोभेट सञ्चालकहरूको भनाइ रहेको छ । विषादी प्रयोग भएका तरकारीको उपभोग गर्ने गर्भवती महिलाको अपाङ्ग भएको शिशु जन्मने, क्यान्सर, मुटु र छालाजन्य रोगको सङ्क्रमण हुने अधिकृत भट्टको भनाइ रहेको छ ।

प्रकाशित मिति: बिहिबार, साउन ८, २०७१