आइतवार, फाल्गुन २०, २०८०

सुर्खेत उपत्यकामा बल्ल सुरु भयो रोपाइँ

सुर्खेत, ७ साउन । असारभरि धान रोपाइँ हुन नसकेको यहाँको उपत्यकालगायत आसपासका क्षेत्रमा अहिले धमाधम रोपाइँ हुन थालेको छ । साउन लागेपछि मात्रै निरन्तर वर्षा भएपछि यहाँको उपत्यकामा रोपाइँ सुरु भएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ । केही स्थानमा रोपाइँ सुरु भइसकेको र केही स्थानमा बीउ तयार हुनै लागेको कार्यालयले जनाएको छ । यहाँका चिङ्गाड क्षेत्र र पश्चिम सुर्खेतको सोत खोलाको पानीले भेटाउने क्षेत्रका खेतहरूमा धान रोपिसकिएको छ । तर जिल्लाको धान उत्पादन हुने क्षेत्रफलमध्ये झन्डै ६० प्रतिशत क्षेत्र रहेको उपत्यकामा भने भर्खरमात्रै रोपाइँ सुरु भएको हो । रोपाइँ गर्न नपाएका किसानलाई अझै केही दिन पर्खन कृषि विज्ञले सुझाव दिएका छन् । साउनको १५÷२० गतेसम्ममा रोपाइँ गर्न सकियो भने पनि उत्पादनमा खासै असर नपर्ने कृषि विज्ञले बताएका छन् ।
छिटो पाक्ने जातको छनोट र झारपात व्यवस्थापनमा ध्यान दिने हो भने छरुवा धानबाट पनि राम्रो उत्पादन लिन सकिने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विजय गिरीले बताउनुभयो । उहाँका अनुसार हर्दिनाथ १, सुक्खा धान ३, सुक्खा धान ४ लगायतका जात लगाउनु उपयुक्त हुन्छ । धानका यी जात पानी नभए पनि खेतमा सिधै छर्न सकिन्छ । बीउबिजन कम्पनी, नार्कको क्षेत्रीय अनुसन्धान केन्द्र तथा जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गरेर धानका बीउ लिन सकिन्छ । धान छर्नुअघि राम्रोसँग खनजोत गर्न र झारपात देखिने बित्तिकै हटाइहाल्न कृषि विज्ञको सुझाव छ ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०७१