शनिबार, बैशाख १, २०८१

चिया बगान मजदुरको स्वास्थ्यमा विषादीको नकारात्मक असर

काँकडभिट्टा, ६ साउन । झापाको चिया बगानमा विषादी छिट्ने मजदुरले उनीहरूको  स्वास्थ्यमा विषादीको नकारात्मक असर परिरहेको बताएका छन् । बगान सञ्चालकहरूले मास्क, चस्मा र पञ्जाजस्ता स्वास्थ्य सुरक्षा गर्ने साधन उपलब्ध नगराउँदा स्वास्थ्यमा असर परिरहेको उनीहरूको भनाइ छ । बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटमा २६ जना मजदुरलाई विषादी छिट्ने नियमित काममा लगाइएको छ । तर उनीहरू मास्क, चस्मा र पञ्जा नलगाइकन विषादी छिट्ने गर्छन् । चर्को घाम लागेको बेला मात्र विषादी छिट्नुपर्ने भएकाले त्यस काममा खटिने मजदुरलाई निकै सास्ती हुने गर्छ । झार मार्ने विषादी यति कडा हुन्छ कि विषादी छर्किएको ठाउँमा पाँच दिनभित्र सबै झार मरेर परालजस्तै बन्छ । वर्षमा दुईचोटि झार मार्न विषादी छर्कने गरिन्छ ।
विगत ३० वर्षदेखि गिरीबन्धु टी इस्टेटमा काम गर्दै आएका ५० वर्षीय राजन दर्जी विषादी छिट्दाछिट्दै कडा गन्धले एकपटक बेहोस भएको र अस्पताल लगेर उपचार गरेपछि मात्र बाँचेको  बताउँछन् । गत १२ वर्षदेखि बगानमा कार्यरत अर्का मजदुर कैलाश सुनुवार विषादीकै कारण मजदुरलाई आँखा पोल्ने, जिउ चिलाउने, नङ कुहिनेजस्ता समस्या देखापरेको बताउँछन् । विषादीमा काम गर्ने मजदुरले बारम्बार मास्क, चस्मा र पञ्जा माग गर्दा बगान सञ्चालकले बेवास्ता गरेको  मजदुरहरूको  गुनासो छ । चिया बगानमा किरा मार्न र झार मार्न एसिफेट, अल्सुकर, एग्रोभेट, अल्किल, टुफोटी लगायतका विषादी ठूलो मात्रामा छिट्ने गरिएको छ । बगानमा प्रयोग हुने विषादी कडा खालको हुने र त्यसले मजदुरको स्वास्थ्य दिनानुदिन जोखिममा पारिरहेको मजदुर पासाङ तामाङ बताउँछन् । विषादीमा काम गर्ने एक मजदुरले दैनिक २०० लिटर विषादीको झोल छिट्नुपर्ने हुन्छ । बगानले मजदुरलाई जोखिमबाट बच्ने साधन उपलब्ध गराएको छैन । उनीहरूको नियमित स्वास्थ्य परीक्षण र उपचारको व्यवस्थासमेत नगरेको उनीहरूको गुनासो  छ  । -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, साउन ६, २०७१