शुक्रबार, चैत्र १६, २०८०

पूर्वाञ्चलमा ५१ प्रतिशतमा रोपाइँ सम्पन्न

विराटनगर, ५ साउन । पूर्वाञ्चल विकास क्षेत्रको ५१ प्रतिशत जग्गामा धान रोपाइँ सम्पन्न भइसकेको छ । यस क्षेत्रअन्तर्गत १६ जिल्लामध्ये तराईको पाँच जिल्लामा ४८ प्रतिशत, मध्यपहाडको आठ जिल्लामा ५५ दशमलव ४८ प्रतिशत र उच्चपहाड तीन जिल्लाको ४२ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । पूर्वाञ्चलका पाँच लाख १३ हजार ४५६ हेक्टर जग्गामा धान खेती गरिन्छ । सबैभन्दा बढी धान उत्पादन हुने तराईका पाँच जिल्लामध्ये मोरङमा ६२ प्रतिशत र सबैभन्दा कम सप्तरीमा मात्र ३० प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । त्यसैगरी, झापाको खेतीयोग्य ८८ हजार हेक्टर जग्गामध्येबाट ६० प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ भने मोरङको ९७ हजार ८६० हेक्टर जग्गाको ६२ प्रतिशत, सुनसरीको ५८ हजार ५०० हेक्टर जग्गाको ५३ प्रतिशत, सप्तरीको ७० हजार हेक्टरको ३० प्रतिशत र सिरहाको ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गाको ३६ प्रतिशतमा रोपाइँ सम्पन्न भएको सो कार्यालयका कृषिप्रसार अधिकृत रामसोगारथ साहले जानकारी गराउनुभयो ।
मध्यपहाडका आठ जिल्लामा करिब ५६ प्रतिशत जग्गामा धान रोपाइँ सम्पन्न भएको छ । इलामको १४ हजार ८१५ हेक्टरको ७१ प्रतिशत, पाँचथरको १५ हजार ४३२ हेक्टरको ५३ प्रतिशत, धनकुटाको ११ हजार २०४ हेक्टरको ४० प्रतिशत र तेह्रथुमको १० हजार १४२ हेक्टरको ५५ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको सो कार्यालयले जनाएको छ । मध्यपहाडी जिल्लाअन्तर्गतकै भोजपुरको २० हजार ९३३ हेक्टरको ५७ प्रतिशत, उदयपुरको १६ हजार ८५ हेक्टरको ५७ प्रतिशत, खोटाङको १५ हजार २०२ हेक्टरको ५१ प्रतिशत र ओखलढुङ्गाको छ हजार ६०५ हेक्टरको ५० प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । त्यसैगरी, उच्च तीन पहाडी जिल्लामा ४२ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । सोअन्तर्गत सोलुखम्बु जिल्लाको एक हजार ५२५ हेक्टरमध्येबाट ८२ प्रतिशत, ताप्लेजुङको १० हजार १४२ हेक्टरमध्ये ५५ प्रतिशत र सङ्खुवासभाको १५ हजार ४९६ हेक्टरमध्येबाट मात्र ४० प्रतिशत धानबाली रोपाइँ सम्पन्न भएको हो । मनसुनी वर्षा नहुँदा र सिँचाइको पूरा प्रबन्ध नभएका क्षेत्रका अधिकांश खेतीयोग्य जग्गा बाँझो अवस्थामा छन् । धानबालीको जरा सुक्नु हुँदैन । रोपाइँ गरिएदेखि धान पाक्ने बेलासम्म कम्तिमा दुई इन्च खेतमा पानी रहेको अवस्थामा अत्यधिक उत्पादन हुन्छ । तर यसपटक न्यून वर्षाका कारण किसानले रोपाइँ गरेका अधिकांश खेतमा पानीको अभाव देखिएकाले उत्पादन घट्ने सम्भावना छ ।

प्रकाशित मिति: सोमवार, साउन ५, २०७१