काठमाडौं, ४ श्रावण । सरकारले कालीमाटी तरकारी बजारमा बेच्न ल्याउने हरिया तरकारीमा अत्यधिक बिषादी भएको उजुरी अध्यधिक बढेपछि विषादी विश्लेषण प्रयोगशाला स्थापना गरेको एक महिना भित्रै त्यसको प्रभाव कति परेको छ भन्ने कुराको प्रमाण कालीमाटी चोकमा फालिएको गोलभेंडाबाट नै प्रमाणित भएको छ ।
कालीमाटी तरकारी बजारमा बेच्न ल्याईएका हरिया तरकारीहरु मध्ये आलु भेँडेखुर्सानी, पिरो खुर्सानी, हात्ती सुँढे खुर्सानी, केरा, बोडी , पालुङ्गो, काउली, गाजर लगायतका २६ प्रकारका तरकारीमा अध्यधिक बिषादी प्रयोग भएको तथ्य सार्वजनिक गरिसकेको परिप्रेक्ष्यमा पछिल्लो समयमा जे जस्ता गतिविधि बढ्न थालेका छन् । त्यसको निगरानी सरकारी निकायले गर्नु आवश्यक छ ।
जनतालाई स्वस्थ हरिया तरकारी ख्वाउने कार्यका लागि यतिखेर कृषि विकास मन्त्रालय जसरी सक्रिय भएको छ । त्यसैगरी अन्य सरोकारवाला निकायहरु पनि शसक्त भईदिने हो भने समस्या समाधान गर्नका लागि धेरै समय कुर्नु पर्ने देखिँदैन । सरकारले जव विषादी विश्लेषण प्रयोगशालाको स्थापना ग¥यो तवदेखि काठमाडौंमा प्रांगारिक खेतीका नाममा मनपरी गर्नेहरुको सातो उड्न थालेको । पछिल्लो समयमा देखिएको गोलभेंडा काण्डले यसलाई छतातुल्ल पारिदिएको छ । एकछत्र ब्रम्हलुट मच्चाईरहेका व्यापारीहरु कालीमाटीमा राखिएको दू्रत बिषादी विश्लेषणले छट्पटिएर कालीमाटीमा बेच्न ल्याउने बिषादी प्रयोग भएका तरकारीजन्य पदार्थहरुको विक्री स्थल परिवर्तन गर्न थालेका छन् ।
कृषि विकास मन्त्रालयले कालीमाटीमा फ्याँकिएका तरकारीमा बिषादी प्रयोग भएको हुन सक्ने आशंका गरेपछि तीन दिन भित्र तरकारी भित्र्याउन वन्द गर्ने चेतावनी दिने उनै व्यापारीहरु कालीमाटीबाट सर्दै बल्खु, प्रर्दशनीमार्गमा खसी बजार, चावहिल, बानेश्वर लगायतका ठाउँमा पुगेका छन् । त्यसैले सरकारले अव कालीमाटी मात्र होइन चावहिल, खसीबजार, बल्खु, बानेश्वर लगायतका अन्य तरकारी बजारमा समेत छड्के बिषादी जाँच गर्नु अपरिहार्य छ ।
अन्यथा बिषादीमुक्त हरिया तरकारी आम नागरिकहरुलाई उपभोग गराउने सरकारी सोच असफल हुन बेर छैन । अत्यधिक बिषादी प्रयोग गरी तरकारी उत्पादन गर्नेहरु फेरि सल्बलाउन सक्ने मात्र होइन सरकारबाट उल्टै विभिन्न बहानामा क्षतिपूर्ति नअसुल्लान भन्न सकिन्न ?
Add Comment