बिहिबार, चैत्र १५, २०८०

वर्षा नभएर २८ प्रतिशतमात्रै धान रोपाइँ

सप्तरी, २ साउन । यस वर्ष पर्याप्त वर्षा नभएका कारण असार महिना बितिसक्दा पनि सप्तरीमा करिब २८ प्रतिशत मात्रै धान रोपाइँ हुन सकेको छ । यस जिल्लामा रहेको कुल ७० हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये २८ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । असारको पहिलो साता वर्षा भए पनि त्यसपछि राम्ररी वर्षा नभएका कारण ७२ प्रतिशत जग्गामा धान रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख अशोककुमार दास यादवले बताउनुभयो ।
असारको पहिलो साता वर्षा भएपछि ५ प्रतिशत र असारको अन्तिम सातासम्ममा २८ प्रतिशत जग्गामा मात्र धान रोपाइँ हुन सकेको प्रमुख यादवले बताउनुभयो । यसमध्ये जिल्लाको उत्तरी पश्चिमी ग्रामीण क्षेत्रभन्दा दक्षिणी क्षेत्रमा पर्ने नहर छेउछाउ तथा पूर्व–पश्चिम राजमार्ग छेउछाउमा बढी रोपाइँ बताइन्छ । पर्याप्त वर्षा नभएर गत वर्ष पनि करिब ३० प्रतिशतमात्र जग्गामा धान रोपाइँ भएको थियो । सिँचाइको अभावमा सप्तरीका किसान आकाशे पानीको भरमा खेती गर्दै आएपनि विगत केही वर्षयता खेती गर्ने समयमा वर्षा नभएपछि किसान मार खेप्दै आएका छन् ।   -कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७१