शुक्रबार, बैशाख ७, २०८१

बजेटले कृषिलाई नयाँ जीवन दिनेछ

RamSharan Mahatकाठमाडौँ, २ साउन । अर्थमन्त्री डा. रामशरण महतले लगानीको वातावरण बनाउन, कृषिलाई नयाँ जीवन दिन, अर्थव्यवस्थामा रहेको गतिहीनताको अन्त्य गर्न र पूर्वाधार विकासको कामलाई अघि बढाएर समग्र अर्थव्यवस्थालाई समृद्ध बनाउन बजेटले योगदान दिने बताउनुभएको छ । आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा अर्थमन्त्री डा. महतले सस्तो ब्याजमा ऋण दिएर ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जना गर्दै कृषिलाई नयाँ जीवन दिन पनि बजेट सफल हुने विश्वास व्यक्त गर्नुभयो । “लगानी, ऊर्जा, कृषि, बैंकिङ, उद्योगलगायतका धेरै विषयमा आवश्यक विधेयकहरू आउनेछन्, जसले लगानीको वातावरण बनाएर समग्र विकासलाई समेत टेवा दिनेछ,” अर्थमन्त्री डा. महतले भन्नुभयो । उहाँले बजेट कार्यान्वयनको चुनौती रहे पनि निश्चित अवधिभित्र सरकारी निकायले काम गर्ने गरी कार्यतालिका बनाउने काम केही दिनभित्रै हुने र त्यसका लागि आफूले मन्त्रालयका उच्च अधिकारीहरूलाई निर्देशनसमेत दिएको बताउनुभयो ।
“निर्धारित समयभित्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउनु र मुलुकलाई आर्थिक समृद्धिमा लैजानु वर्तमान सरकारको मूल ध्येय हो, त्यसका लागि आवश्यक काम गर्न सरकार सदैव प्रतिबद्ध छ,” अर्थमन्त्री डा. महतले भन्नुभयो । तराईको कृषि, औद्योगिकीकरण, बृहत् सिँचाइ, पुराना आयोजनाको पुनःस्थापनालगायतका क्षेत्रमा काँग्रेस सरकारमा रहँदा नै अधिकतम बजेट आउने गरेको दाबी गर्दै उहाँले पहिलोपटक हरेक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँको भौतिक विकासको सुनिश्चिततासहितको बजेटको व्यवस्था गरिएको बताउनुभयो । मन्त्री डा. महतले एनेकपा (माओवादी)का नेता डा. बाबुराम भट्टराई सत्तामा रहँदा नवउदारवादको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकजस्ता संस्थाको शरणमा पुग्नुभएको तर सत्ता बाहिर रहँदा उनीहरूको आलोचना गर्ने काम गरेर सत्ताबाट बाहिर रहँदा मयूरको प्वाँख फ्याँक्ने काम गर्नुभएको टिप्पणी गर्नुभयो । -कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७१