बिहिबार, बैशाख १३, २०८१

कृषकलाई चेतनामूलक कार्यक्रम

ललितपुर, २ साउन । कृषि मन्त्री हरिप्रसाद पराजुलीले गुणस्तरहीन खाद्य सामग्री उत्पादनमा न्यूनीकरण गर्न कृषकलाई चेतनामूलक कार्यक्रम दिनुपर्ने बताउनुभएको छ । काठमाडौमा भएको खाद्य अधिकारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मन्त्री पराजुलीले व्यावसायिकरुपमा कृषि पेसा अङ्गालेका कृषकलाई कम विषादीयुक्त खाद्य सामग्री उत्पादन गर्न सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा कृषि मन्त्रालयका सहसचिव मोहन चापागाईंले उपयुक्त कानुनी व्यवस्थाको अभावमा गुणस्तरहीन र विषाक्त खाद्य वस्तुको उपयोगबाट धेरै सर्वसाधारणले ज्यान गुमाउनुपरेको बताउनुभयो ।
सो अवसरमा उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले ‘खाद्य हक र उपभोक्ता अधिकारः अबको बाटो’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै खाद्य अधिकारसम्बन्धी हक प्रत्याभूति गर्नेलगायत खाद्यसम्बन्धी विषयगत विधेयक तर्जुमा, पारित, लागू र त्यसअनुसारको संरचना तयार गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७१