बिहिबार, बैशाख १३, २०८१

बिरुवा बिक्रीबाट आत्मनिर्भर बन्दै

तुलसीपुर २ साउन । घोराही नगरपालिका वडा नं ५ अम्बापुर सालघारीका चुडामणि बेल्वासे यस मौसममा मात्रै बिरुवा बिक्री गरेर रु एक लाख ५० हजार आम्दानी गर्न सफल हुनुभएको छ । आफ्नै छ कट्ठा जग्गामा विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर स्थानीय घोराही बजारमा ल्याई बिक्री गर्ने गरेको बताउने बेल्वासेले सोही व्यवसायबाट घरपरिवार पाल्ने काम गरिरहनु भएको छ । घोराही बजारका चोक–चोकमा विभिन्न प्रजातिका बिरुवा बिक्रीका लागि राखेका उहाँले बिरुवा बेच्न घरका अन्य सदस्यलाई पनि लगाउने गरेको बताउनुभयो । विगत नौ वर्षदेखि यो पेसा गर्दै आएको बताउने उहाँले सुरुमा कृषि विकास बैंक घोराहीबाट रु २० हजार ऋण लिई नर्सरीको स्थापना गर्नुभएको थियो । सोही नर्सरीलाई केही समयपछि फर्ममा दर्ता गरेर अहिले उहाँ व्यावसायिक उत्पादन गरेर बिरुवा बिक्री गर्नुहुन्छ । सुरुका वर्षहरूमा ९÷१० हजार बिरुवा उत्पादन गर्दै आउनुभएका उहाँले अहिले वार्षिक पाँच लाख बोटबिरुवा उत्पादन गर्दै आएको जानकारी दिनुभएको छ । अहिले उहाँलाई बेल्वासेको नर्सरी भनेर धेरैले चिन्ने गरेका छन् र धेरै ग्राहक बोटबिरुवा लिन उहाँकै घर जाने गर्छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७१