शनिबार, बैशाख ८, २०८१

फलफूलको बिरुवा बिक्री गरेर वार्षिक सात लाख आम्दानी

खोटाङ, १ श्रावण । फलफूलको बिरुवा बिक्री गरेर खोटाङका एक कृषकले वार्षिक सात लाख बढीको आम्दानी गर्दै आउनुभएको छ । याम्खा–५ का ५४ वर्षीय रामनिधि आचार्यले बाँझो रहेको दश रोपनी जग्गामा लगाएको विभिन्न प्रजातिका फलफूलको बिरुवा बिक्री गरेर वार्षिक साँढे सात लाखभन्दा बढीको आम्दानी गर्दै आउनुभएको हो । आफूले उत्पादन गरेको सुन्तला, अनार, कुरीलो, कागती, जुनार, निबुवा, अम्बा, लिचीलगायत फलफूलका बिरुवा घरैबाट बिक्री हुने गरेको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा त त्यत्ति राम्रो अम्दानी भएन तर, अहिले आएर वार्षिक सात लाख बढीको आम्दानी हुने गरेको छ ।” अन्य बालीभन्दा कम मिहिनेत र हावापानीले असर पनि नगर्ने भएकाले आफूले फलफूलको नर्सरी लगाएको उहाँले बताउनुभयो । आचार्यका अनुसार नर्सरीबाट उत्पादित फलफूलका बिरुवा प्रतिगोटा २० देखि ५० रुपैयाँमा घरैबाट बिक्री हुने गरेको छ । पाँच वर्षअघिदेखि सुरु गरेको नर्सरीबाट उत्पादित बिरुवा जिल्ला कृषि विकास कार्यालय खोटाङ, विभिन्न गाविसमा, छिमेकी जिल्ला भोजपुर र उदयपुरमा समेत बिक्री हुने गरेको आचार्यको भनाइ छ । धनकुटामा लिएको तालिमपछि आफ्नो नाङ्गो डाँडा फँडानी गरेर नर्सरी लगाएको आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहिबार, साउन १, २०७१