शुक्रबार, चैत्र १६, २०८०

पच्चीस प्रतिशतमा अझै रोपाइँ बाँकी

बनेपा, १ साउन । काभे्रपलाञ्चोक जिल्लामा अझै पनि २५ प्रतिशत जमिनमा रोपाइँ हुन सकेको छैन । जिल्लाको १० हजार १०० हेक्टर जमिनमध्ये ७५ प्रतिशत खेतमा रोपाइँ सकिएको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सो कार्यालयका वरिष्ठ कृषि अधिकृत सहदेवप्रसाद हुमागाईंले यहाँको ९० प्रतिशत खेतमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको र सिँचाइको पहँुच भएको क्षेत्रमा मात्रै रोपाइँ सकिएको जानकारी दिनुभयो । यहाँ कुल ४८ हजार खेतीयोग्य जमिन रहेकामा कुल १० हजार १०० क्षेत्रफलमा धान खेती हुन्छ । जिल्लाभर बर्सेनि ३१ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । उहाँले भन्नुभयो, “मनसुन अब एक हप्ता सक्रिय रहे बाँकी रहेका सबै खेतमा रोपाइँ सकिन्छ ।” उहाँका अनुसार जिल्लाको पाँचखाल र कुन्ताबेसी क्षेत्रमा वसन्त ऋतुमा लगाइएको तरकारी निकाली सक्न एक हप्ता लाग्ने हुँदा सिँचाइयोग्य जमिनमा समेत केही समय रोपाइँ ढिला हुने भएको छ ।  -कृषि साप्ताहिक

प्रकाशित मिति: बिहिबार, साउन १, २०७१