शुक्रबार, चैत्र १६, २०८०

हेम्जामा १३ करोड मूल्यको आलु उत्पादन

पोखरा, ३२ असार । कास्कीको नगरोन्मुख हेम्जा गाविसमा यस वर्ष रु १३ करोड मूल्यको आलु उत्पादन भएको छ । गाविसमा यस वर्ष ११ हजार २०० मेट्रिक टन आलु उत्पादन भएको देखिन्छ । गत वर्षको भन्दा यस वर्ष केही मात्रामा उत्पादन बढी भएपनि कृषकले सधैँ एमएस ४२–३ जातको निलो आलु लगाउँदा उत्पादनमा ह्रास हुँदै गएको अगुवा कृषक चित्रनाथ पौडेल बताउनुहुन्छ । गत वर्ष त्यहाँका कृषकले १० हजार मेट्रिक आलु उत्पादन गरी करिब रु १२ करोड कमाइ गरेका थिए । यस वर्ष कृषकले खुमल लक्ष्मी जातको आलु पनि लगाएकामा त्यसले राम्रो उत्पादन दिएको कृषकको भनाइ छ । कुल खेतीयोग्य जमिनमध्ये ४५० हेक्टर जमिनमा आलुखेती गरिँदै आएको छ । यस गाविसका एक हजार ८५ परिवार व्यावसायिक रूपमा आलुखेती गर्ने गर्दछन् । कृषकले आलुखेतीका लागि चितवन, नवलपरासी, बागलुङ र म्याग्दीबाट बर्सेनि रु पाँच करोड मूल्यको कुखुराको सुली आयात गर्ने गर्दछन् । यहाँका कृषकले आलुबाहेक अन्य तरकारीखेती पनि गर्ने गर्छन् । यहाँका कृषकहरूले तरकारीखेतीबाट मात्रै बर्सेनि रु एक अर्बभन्दा बढी आम्दानी गर्ने गरेको बताइएको छ । काउली, गोलभेँडा, च्याउ, बन्दा, सिमी, काँक्रो, भान्टालगायतका तरकारीखेतीबाट कृषकले मनग्य आम्दानी गर्ने गरेका छन् । यस गाविसमा सिँचाइको राम्रो व्यवस्था भएकाले पनि सबै खेतीपातीको उत्पादन सन्तोषजनक हुने गरेको अर्का कृषक मीनबहादुर थापा बताउनुहुन्छ । कृषकले प्राङ्गारिक मल प्रयोग गरेर तरकारीखेती गर्ने गरेकाले यहाँबाट उत्पादित तरकारी स्वादिलो हुने गर्दछ । -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, असार ३२, २०७१