पोखरा, ३२ असार । नेपाल खाद्य संस्थान गण्डकी अञ्चल कार्यालय पोखराले मनाङमा उत्पादन भएको उवा बिक्रीका लागि काठमाडौँमा पठाएको छ । कार्यालयले पहिलोपटक १० मेट्रिक टन उवा बिक्री गर्न काठमाडौँ पठाएको कार्यालय प्रमुख दर्शनकुमार कोइरीले बताउनुभएको छ । अहिले खाद्य संस्थानको गोदामबाट प्रतिकिलो रु ५५ मा उवा बिक्री गरिँदैआएको छ । कार्यालयले गण्डकी र धवलागिरि अञ्चलका दुर्गम जिल्लामा तोकिएको कोटामध्ये शतप्रतिशत नै खाद्यान्न ढुवानी गरिसकेको छ । वर्षायाम अगावै ती जिल्लामा खाद्यान्न ढुवानी गरी स्थानीय जनतालाई खाद्यान्नको अभाव हुन नदिने उद्देश्यअनुरूप कार्यालयले तोकिएको कोटामध्येको खाद्यान्न ढुवानी गरेको हो ।
यसमध्ये गोरखाको सिर्दीवासमा २०० क्विन्टल र माछाखोला डिपोमा १०० क्विन्टल खाद्यान्न पुगिसकेको छ । त्यस्तै, मुस्ताङमा २१० क्विन्टल र मनाङमा तीन हजार ५०० क्विन्टल खाद्यान्न पठाइसकिएको छ । कास्की, स्याङ्जा, पर्वत, तनहुँं, लमजुङ र मनाङमा रहेका कारागारहरूले पनि आवश्यक पर्ने खाद्यान्न कार्यालयबाटै लैजाने गरेका छन् । अञ्चल कार्यालयमा अहिले २०० क्विन्टल खाद्यान्न सञ्चिति रहेको बताइएको छ । -कृषि साप्ताहिक
Add Comment