शनिबार, बैशाख ८, २०८१

बाख्रापालन व्यवसायका लागि रकम हस्तान्तरण

तेह्रथुम, ३२ असार । जिल्ला विकास समिति तेह्रथुममातहतको स्थानीय विकाष कोषले थोक्लुङ गाउँ विकास समिति वडा नं ८ का २६ विपन्न परिवारलाई व्यावसायिक बाख्रापालनका लागि आर्थिक सहयोग प्रदान गरेको छ । कोषले गरिबी निवारण कोषको सहयोगमा स्थानीय एकता सामुदायिक संस्थामा आबद्ध विपन्न परिवारलाई प्रतिपरिवार रु आठ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो । विपन्न परिवारको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले २६ परिवारलाई रु आठ हजारका दरले कुल रु दुई लाख १९ हजार प्रदान गरिएको सामाजिक परिचालक दिलबहादुर लिम्बूले बताउनुभएको छ । यसैगरी, जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले किसानलाई चालु आर्थिक वर्षमा १८ वटा हाते ट्र्याक्टर वितरण गरेको छ ।
कृषिमा आधुनिकीकरण गर्न कार्यालयले ५० प्रतिशत अनुदानमा खेतबारी खनजोत गर्ने आधुनिक हाते ट्र्याक्टर वितरण गरेको हो । कृषिको व्यावसायीकरण र आधुनिकीकरणका लागि किसानलाई १३ वटा मिनी ट्र्याक्टर र तीन वटा पावर ट्र्याक्टर वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमका वरिष्ठ कृषि विकास अधिकृत तपेन्द्रबहादुर शाहले बताउनुभयो । कृषक समूह, कृषि सहकारी संस्था र किसानबाट आएको निवेदनको आधारमा हाते ट्र्याक्टर किसानलाई वितरण गरिएको हो । -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, असार ३२, २०७१