शनिबार, बैशाख १, २०८१

सन्ताउन्न वटा सिँचाइ योजना निर्माण

बाबियाचौर (म्याग्दी), ३१ असार । म्याग्दीमा यस वर्ष ५७ वटा सिँचाइ योजना निर्माण भएका छन् । जिल्ला कृषि विकास कार्यालयमार्फत ५२ वटा साना, एउटा सहकारी र चार वटा प्लास्टिक पोखरी सिँचाइ योजना निर्माण गरिएको हो । नयाँ योजनामार्फत १९० हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा विस्तार भएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । साना सिँचाइ कार्यक्रमअन्तर्गत २४ गाविसमा निर्माण भएको योजनाबाट १५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भई एक हजार २२४ घरधुरी लाभान्वित भएका कार्यालयका प्राविधिक सहायक रमेश खड्काले जानकारी दिनुभयो । प्राविधिक सहायक खड्काका अनुसार रु ३५ लाख ६० हजार ४३६ कुल लगानी भएको साना सिँचाइ आयोजनामा सरकारले रु ३० लाख ९६ हजार ३१ अनुदान उपलब्ध गराएको छ । उपभोक्ताले रु चार लाख ६४ हजार ४०४ बराबरको श्रमदान गरेका छन् ।
दरवाङ, कुहुँ, अर्मन, बाबियाचौर, ताकम, देविस्थान, बिम, गुर्जा, पाखापानी, मल्कवाङ, भगवती, बेगखोला, चिमखोला, घतान, पात्लेखेत, शिख, घार, हिस्तान, ज्यामरुककोट, रत्नेचौर, पुलाचौर, सिंगा, भकिम्ली र नारच्याङ गाविसमा साना सिँचाइ योजना निर्माण गरिएको कार्यालयले जनाएको छ । यसैगरी, सहकारी सिँचाइ कार्यक्रमअन्तर्गत बिम बहुउद्देश्यीय सहकारी संस्थामार्फत बिम–४ मा वेल्फी लुरवाङ सिँचाइ आयोजना निर्माण भएको छ । सरकारको रु दुई लाख ९९ हजार ४५२ अनुदान र उपभोक्ताको रु ७४ हजार ८३६ श्रमदानमा निर्माण भएको उक्त योजनाबाट २४ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । यस्तै बरङ्जा–४, पूलाचौर–७, भगवती–२, पात्लेखेत–१ र घतान–४ मा रु दुई लाख ४६ हजार ३४६ को लागतमा सिँचाइ सुविधाका लागि छ वटा प्लास्टिक पोखरी निर्माण गरिएका छन् । प्लास्टिक पोखरीमार्फत १६ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको छ भने ११६ घरधुरी किसान लाभान्वित भएका छन् । म्याग्दीमा १३ हजार १८८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन उपयोगमा रहेको छ । आर्थिक वर्ष २०६९÷७० सम्मको तथ्याङ्कअनुसार उपयोगमा रहेको खेतीयोग्य जमिनमध्ये २१ प्रतिशतमा मात्र सिँचाइ सुविधा उपलब्ध छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, असार ३१, २०७१