शनिबार, बैशाख ८, २०८१

बीउ भण्डारण गृह निर्माण

धनगढी, ३१ असार । कैलालीको टीकापुर नगर क्षेत्रको किसान बीज वृद्धि सहकारी संस्थाले कृषि विकास कार्यालयको सहयोगमा बीउ भण्डारण गृह निर्माण गरेको छ । निर्माणाधीन रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत सञ्चालित कृषि विकास कार्यक्रमतर्फ १५ प्रतिशत कृषक सहभागिता र रु २५ लाख कार्यालयको सहयोगमा बीउ भण्डारण गृह निर्माण भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख खगेन्द्रप्रसाद जोशीले बताउनुभयो । बीउ भण्डारण गृह निर्माण भएपछि विभिन्न बालीको बीउ सुरक्षित रूपमा भण्डारण गर्न सहज भएको स्थानीय कृषकले बताएका छन् । बीउ भण्डारण गृह निर्माणका लागि टीकापुर नगर विकास समितिले सहकारी संस्थालाई जग्गा उपलब्ध गराएको थियो । कृषि विकास कार्यालयले किसान बीज वृद्धि सहकारी संस्था र अर्को नमुना बीज वृद्धि सहकारी संस्थासमेतलाई ५० प्रतिशत अनुदानमा करिब रु १५ लाख मूल्यबराबरका बीउ प्रशोधन उपकरणसमेत उपलब्ध गराएको छ । यी उपकरणबाट बीउ उत्पादक किसानलाई बीउको ग्रेडिङ, प्याकिङलगायतका काम गर्न सहज भएको छ ।
टीकापुर क्षेत्रको झन्डै ३० हेक्टर जग्गामा बर्खे धानका साथै मकै, मसुरो, गहुँलगायतका बालीको बीज वृद्धि कार्यक्रम स्थानीय कृषकका सहकारी संस्थाले गरिरहेको बताइएको छ । यसैबीच, कृषि सेवा केन्द्र टीकापुरमा सभा भवन निर्माणको कार्य पनि पूरा भएको छ । यसैगरी १० हेक्टर जग्गामा केराखेती विस्तार, नौ बिघा जग्गामा माछा पोखरी निर्माण, फलफूलको बगैँचा तथा नर्सरी स्थापना, आलु तथा तरकारी बालीको उत्पादनका लागि बीउ मलखादसमेत सहयोग स्वरूप स्थानीय कृषकलाई उपलब्ध भइरहेको जोशीले बताउनुभयो । कर्णाली नदीको कैलाली चिसापानीमा मुहान भएको रानी जमरा कुलरिया सिँचाइ आयोजना सरकारको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको सिँचाइ आयोजना हो । आगामी चार÷पाँच वर्षभित्रमा निर्माण पूरा गर्ने लक्ष्य लिइएको यो आयोजनाले कैलालीको पूर्वी क्षेत्र टीकापुर नगरका साथै, मुनुवा, दुर्गौली, नारायणपुर, धनसिंपुर, बलियालगायतका गाविस क्षेत्रको झन्डै २० हजार हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने जनाइएको छ । सिँचाइ सुविधा प्राप्त भएपछि वर्षमा दुई बाली लाग्ने जग्गामा तीन बाली लगाउन सकिने र नगदेबालीको खेती विस्तार हुने भई कृषि उत्पादन र उत्पादकत्वले फड्को मार्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: मङ्लबार, असार ३१, २०७१